काठमाडौं – प्रधानमन्त्री केपी शर्माओलीले कैलालीको क्वारेन्टाइनमा गत जेठ ३२ गते भएको बलात्कारको घटनाबारे गृहमन्त्री रामबहादुर थापासँग जानकारी लिनुभएको छ । मंगलबार साँझ बसेको मन्त्रिपरिषदको बैठकमा प्रधानमन्त्री ओलीले घटना कसरी घट्यो, क्वारेन्टाइनमा सुरक्षाकर्मीको उपस्थिति रहे नरहेको र आरोपी पक्राउको बारेमा गृहमन्त्री थापालाई प्रश्न गरेपछि गृहमन्त्री थापाले आरोपित पक्राउ परेको र घटनाबारे अनुसन्धान भइरहेको जानकारी गराउनु भएको थियो ।
प्रधानमन्त्री ओलीले क्वारेन्टाइनमा स्वंयसेवकबाट सामूहिक बलात्कारको घटना हुनु दुःखद र गम्भीर विषय रहेको भन्दै देशभरका क्वारेन्टाइनको सुरक्षा ब्यवस्था बलियो बनाउन गृहमन्त्रीलाई निर्देशन दिनुभएको हो ।
बैठकमा प्रधानमन्त्रीले कोरोना भाइरस रोकथामका लागि भइरहेको प्रयास, लकडाउन, क्वारेन्टाइन ब्यवस्थापन लगायतका विषयमा जानकारी मागे संगै मन्त्रालयहरुले लगेका विभिन्न प्रस्तावहरुमा निर्णय भएको थियो ।