भारत र चीनलाई अधिकतम संयम अपनाउन संयुक्त राष्ट्रसंघको आग्रह

International

काठमाडौँ – संयुक्त राष्ट्रसंघले सोमबार राति लद्दाखको गलवान भ्यालीमा भएको झडपप्रति चिन्ता व्यक्त गर्दै भारत र चीन दुवै पक्षलाई अधिकतम संयम अपनाउन आग्रह गरेको छ ।

राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसका सहप्रवक्ता एरी कोनेकोले जारी गरेको विज्ञप्तिमा लाइन अफ कन्ट्रोलमा भएका हिंसात्मक झडप र मृत्युका खबरप्रति हामी चिन्तित छौं भन्दै  भारत तथा चीनलाई अधिकतम संयम अपनाउन आग्रह गरिएको छ ।  साथै दुई देशबीचको तनावलाई कम गर्न प्रयास सुरु हुनुलाई सकारात्मक रुपमा लिएको समेत जनाइएको छ ।

भारत र चीनबीच विगत एक महिनादेखि कायम रहेको तनाव बढ्दै गएर सोमबार राति हिंसात्मक झडप भएको हो । उक्त झडपमा भारततर्फका २० सैनिकको मृत्यु भएको छ भने चीनतर्फ ४३ जना हताहत भएको हुनसक्ने बताइएको छ ।

भारतले मंगलबार दिँउसो एक कर्णेलसहित तीनजनाको मृत्यु भएको र १७ जना घाइते भएको बताएको थियो । पछि भारतीय सैनिकहरूको शून्य डिग्री सेल्सीयसभन्दा तलको तापक्रम र उच्च हिमाली क्षेत्रमा तिनीहरूलाई लागेको चोटका कारण मृत्यु भएको बताएको थियो ।