अमेरिकाले दियो लद्दाख झडपबारे पहिलो प्रतिक्रिया

काठमाडौँ – सीमा क्षेत्र लद्दाखमा भारत–चीनका सेनाबीच सोमबार राति भएको हिंसात्मक झडपबारे अमेरिकाले पहिलो प्रतिक्रिया दिएको छ ।

अमेरिकाका विदेश मन्त्री माइक पोम्पीओले शुक्रबार ट्विट गर्दै भारतप्रति समवेदना व्यक्त गरेका हुन् । माइक पोम्पीओले ट्विटरमा लेखेका छन्, ‘हामी हालसालै चीनसँगको झडपमा भारतीय सैनिक मारिएकामा भारतका जनताप्रति गहिरो संवेदना व्यक्त गर्दछौं । हामी ती सैनिकको परिवारमा पर्न गएको पीडाप्रति गहिरो शोक प्रकट गर्छौं ।’

भारत–चीनको तनावबीच अमेरिकाले चीनसँग चिसिरहेको आफ्नो सम्बन्ध सुधार्ने अवसर पनि खोजिरहेको छ । बीबीसीका अनुसार बुधबार अमेरिकी विदेश मन्त्री पोम्पिओले चीनका शीर्ष कूटनीतिज्ञ याङ जीचीसँग ७ घण्टा कुराकानी गरेका थिए । दुवै जनाले त्यस राति सँगै खाना खानुका साथै बैठक गरेका थिए ।

यस बैठकबाट सबै कुरा समाधान नभए पनि चीन -अमेरिकाबीच जारी तनाव केही कम हुने र सहमतिको बाटो खुल्ने विश्लेषकले विश्वास गरेका छन् ।  दुई देशबीचको यो बैठकले अमेरिका र चीनले तनाव बढाउन नचाहेको पनि देखिएको उनीहरूको भनाइ छ । चीनले यो बैठक रचनात्मक भएको प्रतिक्रिया दिएको छ ।

चिनियाँ कूटनीतिज्ञ याङले हङकङ, ताइवान र सिजियाङको सवालमा कुनै दबाब नदिन अमेरिकालाई आग्रह गर्दै यो आफूहरूको आन्तरिक मामिला भएको बताएका थिए ।