भारतको जम्मु-कस्मिरमा भएको गोलाबारीमा परी भारतीय सेनामा कार्यरत गुल्मीका एक युवाको मृत्यु भएको छ ।
गुल्मीको छत्रकोट गाउँपालिका वडा – ५ खर्ज्याङ घर भएका भारतीय सेनाका हवल्दार दीपक कार्की सोमबार विबहान भएको गोलाबारीमा परेका थिए । कार्की जम्मु काश्मिरको रजौरी जिल्लाको नौशेरा सेक्टरमा ड्युटीमै रहँदा गोलाबारीमा पाकिस्तानतिरबाट गोलाबारी भएको थियो ।
गोलाबारीमा घाइते भएका उनको उपचारको क्रममा ज्यान गएको पारिवारिक स्रोतले जानकारी दिएको छ । भारतीय सेनाका प्रवक्ता लेफ्टिनेन्ट कर्नेल देवेन्द्र आनन्दले पाकिस्तानी सेनाको आक्रमणमा ३/५ गोरखा राइफल्समा कार्यरत कार्कीको मृत्यु भएको बताएका छन् ।
१८ वर्ष अघि भारतीय सेनामा भर्ती भएका ३८ वर्षीय कार्की हाल रूपन्देहीको तिलोत्तमा नगरपालिका-५ मणिग्राम बस्दै आएका थिए । कार्कीको परिवारमा ९० वर्षीय बुवा एक श्रीमती २ छोरी र एक छोरा छन् । मृतक कार्कीका दाजु कृष्णबहादुर कार्की केही दिनअघि भारतबाट आएर २४ दिनदेखि गुल्मीको छत्रकोट गाउँपालिकाको जनज्योति माध्यामिक विद्यालयको क्वारेन्टिनमा छन् ।
भारतको गोरखपुरमा सेनाको टुकुडीले सम्मान अर्पण गरेपछि मृतक कार्कीको अन्त्येष्टि गरिने मृतकका दाजु कृष्णबहादुर कार्कीले बताए। अहिले कार्कीको परिवार शव बुझ्न गोरखपुर गएका छन् ।