काठमाडौँ – समयमै द्वन्दकालिन घटनाहरुको व्यवस्थापन गर्न नसके देश ठूलो संकटमा पर्ने विज्ञहरुले चेतावनी दिएका छन् । संयुक्त राष्ट्रसंघले सम्पूर्ण गतिविधिहरु नजिकबाट नियालिरहेको उल्लेख गर्दै द्वन्दकालिन घटनाहरुको व्यवस्थापन समयमै गर्नुपर्ने उनीहरुको तर्क छ । शान्ति प्रक्रियाको लामो समय वितिसक्दा समेत द्वन्दकालिन घटनाहरु अझै व्यवस्थापन हुन नसकिरहेका समयमा विज्ञहरुले देश ठूलो संकटमा पर्ने चेतावनी दिएका छन् ।
द्वन्कालिन समयमा विभिन्न क्षेत्रका नेतृत्वकर्ताको गोप्य सूची संयुक्त राष्ट्र संघले तयार गरेकोले संक्रमणकालिन न्यायलाई टुंगोमा पु-याउन नसके देश संकटमा पर्ने सत्य निरुपण तथा मेलमिलाप आयोगका पूर्व अध्यक्ष डा. सूर्य किरण गुरुङले बताए । करिब ९ हजारको सूची राष्ट्रसंघले गोप्य रुपमा तयार पारेको उल्लेख गर्दै उनले समयमै संक्रमणकालिन न्यायलाई टुंगो लगाउन नसकिए देशमा संकट आउने बताए ।
लैङ्गिक समानता तथा सामाजिक समावेशी विज्ञ पिङ्की सिंह राणाले परिवर्तनका लागि हजारौँले बलिदान दिएपनि अझै परिवर्तनको महशुस जनताले गर्न नपाएको बताइन् । पछिल्लो चरणका गतिविधिहरुले देशलाई पुरानै अवस्थामा पु-याउन सक्ने संकेत देखिएको प्रतिक्रिया दिइन् ।
सांसद नारायण खतिवडाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरुले खाटो बसेको घाउलाई निको बनाउनुको सट्टा उप्काउने काम गरिरहेको बताए । शान्ति प्रक्रियामा द्वन्द व्यवस्थापनका लागि कसरी अगाडी बढ्ने भन्ने कुराहरु अहिलेसम्म विज्ञहरुबाट आउन नसकेको उनको बुझाई छ ।
शान्ति प्रक्रियाको लामो समय वितिसक्दा समेत द्वन्दकालिन घटनाहरु अझै व्यवस्थापन हुन सकेका छैनन् । राज्यले पीडितहरुलाई उचित राहत समेत दिन सकेको छैन । द्वन्दकालिन घटनाका दोषिहरुलाई कारवाही हुनुपर्ने पिडित पक्षको माग अझै छ । तर राज्य यस विषयलाई बेवास्ता गर्दै उदासिन बनेको छ ।