भारतिय सेना प्रमुख जनरल एमएम नरवणेले चिनियाँ सेनासंग भिडन्त भएको लद्दाख क्षेत्रमा पुगेका छन् । सेना प्रमुख नरवणेले पूर्व लद्दाखमा रहेको सेनाको क्याम्पको अवलोकन गरेका हुन् । उनले सो क्षेत्रमा कार्यरत सैनिकहरुलाई उच्च नैतिकता कायम राखी उत्साह र जोशका साथ काम गर्न निर्देशन दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
चिनियाँ सेनासँगको भिडन्तमा सहभागी भएका सैनिकहरुलाई उनले सम्मान पनि गरे । सेना प्रमुख नरवणे दुई दिने भ्रमणका लागि बुधबार लद्दाख पुगेका हुन् । बुधबार वर्किङ्ग मेकानिजम फर कन्सलटेशन एण्ड कोअर्डिनेशन अन इन्डिया–चाइना बोडर अफिअर्स (डब्लुएमसिसी) को महत्वपूर्ण बैठकको तयारी भइरहेका बेला सेना प्रमुख नरवणेको भ्रमण भएको हो ।
जुन १५ को राति गलवान उपत्यकासँग सीमा जोडिएको एलएसी क्षेत्रमा भारत र चीनका सेनाबिच भिडन्त भएको थियो । सो भिडन्तमा भारतीय सेनाका एक उच्च अधिकारीसहित २० जनाको ज्यान गएपछि दुई देशको तनाव उत्कर्षमा पुगेको छ ।