राष्ट्रपति विद्या भण्डारीले बुधवार साँझ नेपालको नयाँ नक्शा संविधानमा समेट्न संसदमा देखिएको एकताका लागि धन्यवाद दिनका लागि सवै राजनीतिक दलका शीर्ष नेताहरुलाई शितल निवासमा बोलाइन् । राष्ट्रपतिको सो कार्यको सवैले प्रशंसा नै गरे । तर सो चियापान कार्यक्रममा विपक्षी दलका नेताहरुलाई भने अपमान गरियो ।
राष्ट्रपति भण्डारीले यो पटक मात्रै होइन विपक्षी दलका नेतालाई पहिलो पनि अपमान गरेकी थिइन् । नेपाली कांग्रेसका सभापति एंव विपक्षी दलका नेता शेरबहादुर देउवाको बोली नबुझिएको भन्दै अपमान गरेकी थिइन् । बुधवारको चियापान कार्यक्रममा पनि राष्ट्रपति कार्यालयले मार्यादाक्रम मिच्दै विपक्षी दलका नेता देउवाको अपमान गर्यो । शेरबहादुर देउवा अहिले पूर्व प्रधानमन्त्री मात्रै होइन, संसदमा विपक्षी दलको नेता पनि हो ।
तर राष्ट्रपति कार्यालयले पूर्व प्रधानमन्त्री समेत रहेका नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल भन्दा पछाडिको मर्यादामा आसन ग्रहण गराएर अपमान गरेको छ । विपक्षी दलको नेताको मर्यादा पूर्वप्रधानमन्त्रीको भन्दा अगाडि हुन्छ । तर राष्ट्रपति कार्यालयले राज्य र संविधानले तय गरेको मर्यादा उल्लघन गर्दै विपक्षी दलका नेताहरुको अपमान गरेको हो ।
राष्ट्रपति कार्यालयले कांग्रेस सभापति देउवाको मात्र होइन, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको समेत अपमान गरेको छ । राष्ट्रपति कार्यालयले पूर्वसभामुख, पूर्वउपप्रधानमन्त्री भइसकेका कांग्रेस वरिष्ठ नेता पौडेल भन्दा नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङलाई मर्यादामा अगाडि राखेको छ ।