सर्लाहीको धनकौल गाउँपालिका–३ मा गएराति नेकपा र कांग्रेस कार्यकर्ताबीच झडप भएको छ । झडपमा गोली चल्दा १८ जना घाइते भएका छन् ।
नेकपा कार्यकर्ता रामजल रायको असार ७ गते हत्या गरिएको थियो । हत्यारालाई कारबाही गर्न माग गर्दै नेकपा कार्यकर्ताले जुलुस निकालेका थिए ।
जिल्ला प्रहरी कार्यालयका अनुसार, जुलुसमा प्रयोग गरिएको ट्रयाक्टरले बाटो छेकेको थियो । कांग्रेस कार्यकर्ताले बाटो छेकिएको भन्दै हटाउन आग्रह गरेका थिए । त्यहि विषयलाई लिएर विवाद बढ्दै जाँदा झडप भएको हो ।
झडपमा गोली चलेको जिल्ला प्रहरी कार्यालयका डीएसपी विश्वमणि पोखरेलले बताए । उनका अनुसार, गोलीको छर्रा लाग्दा १८ जना घाइते भएका छन् । उनीहरुको अवस्था सामान्य रहेको छ ।
जिल्ला प्रहरी कार्यालयका अनसार, घाइते हुनेहरुमा धनकौल वडा नं. २ रणधीर रंजन बर्मा, बैधनाथ सहनी र लक्ष्मण साह, वडा नं. ३ का रामचन्द्र हजारी नागेश्वर सहनी, महबुब अन्सारी, राकेश कुमार सिंह, रामविनय हजारी, बिलास राय, विजय साह, अरविन्द सिंह, सुनिल महतो, विजय साह, शेख इन्ताज, सुनिल साह, नितेश सिंह, संजित यादव र अरुण यादव रहेका छन् ।
घाइतेहरुको सबैको सर्लाही अस्पतालमा उपचार भइरहेको डीएसपी पोखरेलले बताए। कसले गोली चलायो भन्ने खुलेको छैन ।स्थिति नियन्त्रणमा लिन प्रहरीले पनि बल प्रयोग गरेको थियो । प्रहरीले चार राउन्ड अश्रु ग्यास प्रहार गरेको जनाएको छ ।
गोली चलाएको आरोपमा प्रहरीले स्थानीय मुकेश साहलाई नित्रन्त्रणमा लिएको छ । उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर सोधपुछ भइरहेको जनाएको छ ।