प्रधानमन्त्रीलाई राजीनामाको दबाब

Politics

प्रधानमन्त्री केपी ओलीलाई पद छाड्न दबाव बढिरहेका बेला पार्टीभित्रको छलफलबिनै जारी अधिवेशन अन्त्य गरेपछि बिहीवार नेकपा स्थायी कमिटी बैठक छलफलबिनै स्थगित भएको छ ।

लामो समयदेखि चुलिएको आन्तरिक विवादले नेकपा स्थायी कमिटीको बिहीवारको बैठक बस्दै नबसी टुंगिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा गत सातादेखि जारी बैठकमा लगातार तनाव चुलिएपछि ठोस निष्कर्ष निस्कन नसकेको बताइएको छ । तत्काल राजीनामा दिनुपर्ने स्थायी कमिटी सदस्यहरुको दबाब बढेपछि प्रधानमन्त्री ओलीले पार्टी कमिटीमा छलफलबिनै संसद्को चालु अधिवेशनसमेत अन्त्य गरेका छन् । यसका कारण नेताहरुको असन्तुष्टि झनै चुलिएको छ । यसले गर्दा पार्टी एकतामा गम्भीर संकट उत्पन्न भएको टिप्पणी गरिएको छ ।

त्यसो त, अध्यक्ष ओलीको कामकारवाहीप्रति असन्तुष्टि जनाउँदै नेकपाका शीर्ष नेताले नोट अफ डिसेन्ट लख्नेदेखि बैठकै छाडेर समेत हिँड्ने गरिरहेका छन् । दल विभाजनसम्बन्धी अध्यादेश जारी गर्ने, उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री बनाउन संविधान संशोधन गर्ने, विभिन्न निर्णयहरु कमिटीमा छलफलबिनै कार्यान्वयन गराउने लगायत विषयमा नेताहरुको चरम असन्तुष्टि रहेको छ । पार्टीमा अल्पमतमा परे पनि ओलीले पदबाट राजीनामा दिने सम्भावना भने नदेखिएको विज्ञ बताउँछन् ।

पार्टी कमिटी र शीर्ष नेतृत्वबाट समेत पदबाट राजीनामा दिन दबाब बढिरहेका समयमा अध्यक्ष ओली भने बैठकमै अनुपस्थित हुन थालेका छन् । पटकपटक विभिन्न निर्णय र अभिव्यक्तिका कारण आलोचित हुँदै आएका ओलीको शैली नसुध्रिए उनलाई सर्वसम्मत निर्णयबाटै भएपनि हटाउने मनस्थिस्तिमा अधिकांश सदस्यहरु देखिएका छन् । स्थायी समितिको अर्को बैठक शनिवार बिहानका लागि बोलाइएको छ ।