सन् २०१७ मा सुरु भएको टिकटक सबैभन्दा तीव्र गतिमा लोकप्रियता हासिल गर्ने एपहरु मध्ये एक हो । भारतले प्रतिबन्ध लगाएसँगै चिनियाँ सोसल मिडिया एप टिकटकमाथि बेइजिङसँगको दुरी बढाउने दबाबमा परेको छ । रोयटर्सका अनुसार टिकटकका सीईओ केभिन माएरले भारत सरकारलाई एक पत्र लेख्दै भारतीय प्रयोगकर्ताहरुका डाटा तथा भारतको सुरक्षा तथा सार्वभौमिकताका विषयमा आफूहरु सचेत तथा संवेदनशील रहेको जनाएका छन् ।
चीन सरकारले टिकटक प्रयोगकर्ताका डाटाहरु उपलब्ध गराउन अहिलेसम्म कुनै पनि आग्रह नगरेको र यदि आग्रह गरिहालेमा पनि अस्वीकार गरिने उनले जनाएका छन् । चीनसँगको सीमा विवादमा हिंश्रक झडप भएसँगै भारतले टिकटकसँगै वीच्याट तथा युसी ब्राउजरलगायतका विभिन्न ५९ वटा चिनियाँ एपहरुमाथि प्रतिबन्ध लगाएको थियो ।
भारतीय प्रयोगकर्ताका डाटाहरु सिंगापुरमा रहेको सर्भरमा सुरक्षित छन् । यदि भविष्यमा प्रयोगकर्ताका डाटाहरु दिनका लागि चीन सरकारले आग्रह गर्यो भने पनि टिकटक कम्पनीले त्यस्तो अनुरोध स्वीकार गर्नेछैन । विश्वमा सबैभन्दा धेरै टिकटक प्रयोगकर्ता रहेको देश भारत हो भने दोश्रो स्थानमा अमेरिका रहेको छ ।
भारत सरकारलाई लेखेको पत्रमा टिकटकका सीईओले यस क्षेत्रमा एक अर्ब डलर लगानी गर्ने कम्पनीको योजना रहेको भन्दै अहिले पनि ३५ सय जनाले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा रोजागरी पाइरहेको र १४ वटा भाषामा उपलब्ध रहेको उल्लेख गरेका छन् ।