भेन्टिलेटर उत्पादनमा स्ट्यानफर्ड विश्वविद्यालयसँग सहकार्य गर्दै महावीर पुन

News

महावीर पुनको राष्ट्रिय आविस्कार केन्द्रले अमेरिकाको स्ट्यानफर्ड विश्वविद्यालयसँगको सहकार्यमा अत्यधिक सस्तो मूल्यमा भेन्टिलेटर निर्माणको काम अघि बढाएको छ । महावीर पुनका अनुसार सफल रूपमा उत्पादन पूरा भएपछि यो भेन्टिलेटरको लागत एक लाख रुपैयाँ मात्र हुनेछ । अहिले सामान्य भेन्टिलेटरलाई पनि कम्तिमा २० लाख रुपैयाँ पर्छ । यो भेन्टिलेटरको उत्पादन सफल भए पनि बजारमा आउन भने धेरै चरण पार गर्नुपर्नेछ ।

No photo description available.

स्ट्यानफर्ड विश्वविद्यालयले भेन्टिलेटर विकास गरिरहेको भए पनि प्रयोगमा भने ल्याएको छैन । यो भेन्टिलेटरले अन्य भेन्टिलेटरले जस्तै काम गर्ने दाबी गरिए पनि अहिलेसम्म प्रमाणित भने भइसकेको छैन । आविस्कार केन्द्रले यो भेन्टिलेटर कम्तिमा दुई हप्तामा तयार गर्ने गरी काम गरिरहेको छ । त्यसका लागि स्ट्यानफर्ड विश्वविद्यालयले भेन्टिलेटरका लागि आवश्यक पर्ने सेन्सर र मोडल पठाइसकेको र सोही अनुसार काम अघि बढेको पुनले बताए ।

Image may contain: 1 person, screen and indoor

नेपालमा पनि यो भेन्टिलेटर प्रयोगमा ल्याउनुअघि स्वास्थ्य मन्त्रालयबाट स्वीकृति लिनुपर्ने हुन्छ । पहिले अमेरिकामा यसले मान्यता पाएपछि नेपालमा यसको स्वीकृति लिने प्रक्रिया सुरू गरिने पुनले जनाएका छन् । यो भेन्टिलेटर निर्माण गर्न एक महिनाअघि स्ट्यानफर्ड विश्वविद्यालय र राष्ट्रिय आविस्कार केन्द्रबीच कुरा भएको पुनले बताएका छन् । अमेरिकी विश्वविद्यालयले गरिब मुलुकहरू लक्षित गरेर उक्त भेन्टिलेटर विकास गरेको पुन बताउँछन् ।

No photo description available.

अहिले विश्वविद्यालयले भारतसहित सात मुलुकमा सहकार्य गर्दै भेन्टिलेटर निर्माण गरिरहेको उनले जनाए । सिकिस्त बिरामीलाई सास फेर्न कठिन भयो भने भ्यान्टिलेटरले श्वासप्रस्वास प्रक्रियामा सघाउ पुर्‍याउँछ। अहिले कोरोना भाइरसको महामारीसँग जुधिरहेका सबै मुलुकमा यसको व्यापक प्रयोग भइरहेको छ । कोरोनाले श्वासप्रश्वासमा समस्या पार्ने भएकाले यसको उपचारको लागि भेन्टिलेटर महत्वपूर्ण मानिन्छ ।

Image may contain: 4 people