बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ । सप्तरी राजविराज नगरपालिका–६ का ७२ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।
प्रतिष्ठानका एक डाक्टरका अनुसार उनको बिहीबार राती ११ बजे उपचारकै क्रममा निधन भएको हो । मुटु रोगी ती पुरुषमा मधुमेहको समस्या समेत थियो । उनलाई उपचारका लागि असार ३० गते प्रतिष्ठानमा लगिएको थियो ।
उपचारकै क्रममा उनको स्वाब संकलन गरिएको थियो । पिसिआर परीक्षणका क्रममा उनमा कोरोना पोजेटिभ देखिएको हो । यो सहित नेपालमा संक्रमितको मृत्युको संख्या ४० पुगेको छ ।