लमजुङमा क्वारेन्टाइनमा बसेका एक युवकले आत्महत्या गरेका छन् । क्व्होलासोथार गाउँपालिका–६ पसगाउँका २३ वर्षीय युवकले झुण्डिएर आत्महत्या गरेका हुन् । उनी असार ३१ गतेदेखि वडा नम्बर ९ स्थित बुद्धोदय माविको क्वारेन्टाइनमा बस्दै आएका थिए ।
फागुनमा बुटवलस्थित दिदीको घर गएका उनी असार ३१ गते आएर क्वारेन्टाइनमा बसेको साल्मे भञ्ज्याङ स्वास्थ्यचौकीका इन्चार्ज सन्तोषबाबु सुवेदीले बताउनुभयो । बेलाबेलामा उनको स्वस्थ्य अवस्थाबारे जानकारी लिन गइरहेको, उनको स्वास्थ्य अवस्था सबै सामान्य नै रहेको सुवेदीले जानकारी दिनुभयो ।
शुक्रबार बिहान उनी क्वारेन्टाइनको भान्सा कोठामा झुन्डिएको अवस्थामा फेला परेका हुन् । जिल्ला बाहिरबाट आएकालाई पनि क्वारेन्टाइनमा राख्ने नियम अनुसार उनलाई पनि क्वारेन्टाइनमा राखिएको थियो । शवको पोष्टमार्टम गर्न अनुकुल हेरेर बेंसीसहर अथवा दमौली लगिने भएको छ ।