आगामी साउन ४ गतेदेखि ८ गतेसम्म मुलुकका केही भागमा भारी वर्षा हुनसक्ने भन्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन विभागले सतर्कता अपनाउन आग्रह गरेको छ।
जल तथा मौसम विज्ञान विभागले अहिलेसम्मको पूर्वानुसार त्यस अवधिमा मुलुकका अधिकांश ठाउँमा पानी पर्ने जनाएको भन्दै प्राधिकरणले सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरेको हो।
विभागले साउन ४ गतेदेखि ८ गतेसम्म मुलुकका धेरैजसो ठाउँमा हल्कादेखि सामान्य र कतिपय ठाउँमा भारी वर्षा हुने पूर्वानुमान गरेको छ।
यसले पहाडी क्षेत्रका केही स्थानमा पहिरो र तराईका कतिपय ठाउँमा बाढी तथा डुबानको सम्भावना भएको प्राधिकरणले जनाएको छ।
प्राधिकरणका प्रवक्ता जनार्दन गौतमले विपद् व्यवस्थापनमा संलग्न सुरक्षा निकायहरुलाई उद्धार तथा राहतका लागि तैनाथी अवस्थामा राखिएको बताएका छन्।
जल तथा मौसम विज्ञान विभागले मौसमी प्रणालीको विश्लेषण गर्दा प्रदेश नम्बर १, प्रदेश नम्बर २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानमा भारी वर्षा हुन सक्ने बताएको छ। कर्णाली तथा सुदूर पश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षा हुने र धेरैजसो ठाउँमा हल्कादेखि मध्यमस्तरको वर्षा हुने पनि विभागले जनाएको छ।
देशका एक दुई ठाउँमा अति भारी वर्षा हुने पूर्वानुमान गरिएको र पाँच दिनसम्म पर्ने यो पानीले देशभरमा साना–ठूला नदीहरुको जलसतह पनि उल्लेख्य रुपमा बढ्ने विभागले जनाएको छ। केही नदीले सतर्कता तहसमेत पार गर्ने सम्भावना रहेको छ।
मनसुन सुरु भएयता परेको पानीले पहाड र चुरे क्षेत्रका अधिकांश भूभाग गलिसकेकाले अब पानी परे त्यस क्षेत्रमा पहिरोको सम्भावना रहेको उल्लेख गर्दै प्राधिकरणले नदी किनारा एवम् पहिरोको आसपासमा बसोबास भएका सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
