राम जन्मभुमी बारे ओलिको अभिव्यक्तिमा टिप्पणी गर्दैनौं : भारतिय विदेश मन्त्रालय

International

प्रधानमन्त्री केपी शर्मा ओलीले राम जन्मभूमी भारतमा नभइ नेपालमा भएको भन्दै दिएको अभिव्यक्ति बारे भारतको विदेश मन्त्रालयले कुनै टिप्पणी नगर्ने बताएको छ।

विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले ओलीको ‘अयोध्या अधिव्यक्ति’ बारे सोधिएको प्रश्न मा भने, ‘भारतको विशाल र समृद्ध सांस्कृतिक विरासत विश्वभर परिचित छ। नेपालको विदेश मन्त्रालयले पनि यस बारेमा स्पष्टिकरण दिइसकेको छ। यसबारेमा थप टिप्पणी गर्न म चाहदिँन।’

प्रधानमन्त्री ओलीले भानु जयन्तीको अवसरमा श्री राम वीरगंजको पश्चिममा रहेको ठोरीमा भएको बताएका थिए। उक्त अभिव्यक्तिपछि नेपाल र भारतमा उनको अभिव्यक्तिबारे बहस भइरहेको छ।

ओलीको अभिव्यक्ति विवादित भएपछि परराष्ट्र मन्त्रालयले स्पष्टीकरण दिनुपरेको थियो। मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको अभिव्यक्ति कुनै राजनीतिक विषयसँग नजोडिएको बताइएको छ। श्रीराम र उनीसँग सम्बन्धित स्थानहरुको बारेमा धेरै कथाहरु रहेको भन्दै मन्त्रालयले ओलीले ऐतिहासिक स्थान र तथ्यहरु बारेमा अनुसन्धान हुनुपर्ने कुरामा जोड दिएको परराष्ट्रले जनाएको थियो।