गथांमुगः(भूतलाई कृतज्ञता)

Interesting

नकारात्मक शक्तिका रूपमा लिइने भूतलाई तन्त्र साधनाबाट वशमा ल्याई समाजको हितमा उपयोग गर्न सकिने सन्देश गथांमुगःले दिन्छ।नेवार समाजमा मिथकको रूपमा प्रचलित ‘ख्याक’ पनि संस्कृतिकै एउटा पक्ष हो तर यो भूतभन्दा फरक हो। साधनाद्वारा निम्त्याइएका भूतहरू मानव बस्तीमा आउने तथा घरघर पस्ने विश्वास नेवार समुदायमा छ। रोपाइँका चटारोमा श्रमशक्ति अत्यधिक मात्रामा चाहिने अवस्थामा खेतालाहरूमा भूत चढाउने साधना नेवार समाजमा परम्पराकै रूपमा रहेको थियो। भूत आमन्त्रण गर्ने यस्तो काम काठमाडौंमा सामूहिक रूपमा अक्षय तृतीयामा हुन्थ्यो भने अन्यत्र व्यक्तिगत रूपमा रोपाइँ अघि आआफ्नो खेतमा। तर अहिले यो प्रचलन हराउँदै गएको छ। गार्हो भन्दा गार्हो काम पनि चालै नपाउने गरी सम्पन्न गर्ने शक्ति दिएकाले भूतलाई कृतज्ञता व्यक्त गर्ने परम्परा रहेको छ। तर भूतलाई स्थायी रूपमा घर तथा टोलमा राख्दा अनिष्ट हुने भयले श्रावण कृष्ण चतुर्दशीमा भूतको प्रतिकृतिका रूपमा गथांमुगः बनाई विधिवत् रूपमा भूतलाई विदाइ गरिन्छ।भूतलाई पूजा गरी विदा गर्ने यो दिन बिहानै नुहाईधुवाई तथा घर सरसफाइ गरिन्छ। फलामको किल्ला मुलढोका तथा कोठाका ढोकाहरुमा ठोक्ने तथा फलामको औंठी लगाउनाले भूतबाट छुटकारा पाइने विश्वास पनि पाइन्छ। यो दिन बिहानैदेखि टोल–टोलमा नर्कटको मुठाबाट बनाइएको गथांमुगः ठड्याउने गरिन्छ। टोल र बस्ति अनुसार केहि फरक गथांमुगः देख्न पाइन्छ। कुनै टोलमा स्त्री भूत बनाइन्छ भने कुनै टोलमा पुरुष भूत। स्त्री र पुरुष भूत छुट्याउनका लागि योनी र जनेन्द्रियको आकार दिइएको हुन्छ। नाङ्लो वा कागजमा अनुहार लेखेर टाँसिएको पनि देखिन्छ। कतै भने बच्चाका स्वरुपमा सानोसानो र पछि क्रमशः ठूलो बनाएर साँझ नदीकिनारमा सेलाउन लैजाने चलन पनि छ। कपडाको पुतलीमा भूत पसेको हुनसक्छ भनेर गथांमुगःको शरीरमा पुतली झुण्ड्याउने चलन पनि छ। भक्तपुरमा भने नर्कटको नभई छ्वालीको गथांमुगः बनाइन्छ र जलाइन्छ। पूजा सामग्रीका रूपमा असामान्य मानिने मासु, रगतको डल्लो, भुस, च्वकाबजि (चिउराको धूलो), विभिन्न वनस्पतिका पात, पीठोको रोटीलगायत भूतको पूजाको लागि नभई नहुने मानिन्छ।

नकारात्मक शक्तिका रूपमा लिइने भूतलाई तन्त्र साधनाबाट वशमा ल्याई समाजको हितमा उपयोग गर्न सकिने सन्देश बोकेको चाड हो गथांमुगः, भक्तपुरमा मनाईने गथांमुगःको बारेमा instakhabar टीमले गरेको सानो प्रयास, हेरेर प्रतिक्रिया दिई हौसला बधाईदिनुहोला।

टोलको गथांमुगः सेलाउन लगिसकेपछि घरमा बनाइएको छ्वालीको भूतलाई आगो लगाई बाहिर छ्वासः (प्रायः चौबाटोमा छुट्याइएको सांस्कृतिक स्थल) मा सेलाउन लगिन्छ। सेलाउने व्यक्तिले छ्वाली हातमा लिएदेखि नै पटक–पटक ठूल्ठूलो स्वरमा ‘हा भूत’ भनेर सम्बोधन गर्दै चौबाटोतर्फ लाग्छन्। अर्को छ्वालीको भूतलाई अरू नै व्यक्तिबाट घरमुनि वा नजिकै ढलमा सेलाइन्छ।

भूत सेलाउने व्यक्तिलाई हात–खुट्टा धोएर, पानीले छर्केर मात्र घरभित्र छिर्न दिइन्छ। घरभित्र समेबजि खुवाउने गरिन्छ। घरको दलानमा स्वकिं वा न्याकिं (तीन मुखी वा पाँच मुखी किला) ठोक्ने काम पनि यही वेला हुन्छ। त्यसपछि ढोका लगाइन्छ। अनि केही बेर घर बाहिर जाने, आउने काम बन्द हुन्छ। गथांमुगःसँग सम्बन्धित सम्पूर्ण क्रियाकलापमा हिन्दू वा बौद्ध धर्मको कुनै पनि प्रभाव पाइँदैन। आदिम संस्कृतिको झलक दिने यो चाड हिन्दू, बौद्ध सबैले परम्परागत रूपमा मनाउँदै आएको पाइन्छ।

प्रत्येक श्रावण शुक्ल चतुर्दशीका दिन मनाईने नेवारहरुको पर्व गथांमुगः सोझै धर्मसँग सम्बन्धित चाड होईन। हिन्दू तथा बौद्ध धर्मसँग सम्बन्धित कतिपय सांस्कृतिक पर्व नेवार समाजमा वेग्लै ढंगले हुर्केको पाइन्छ। यसो हुनुको कारण यहाँको मौलिक मूल्य, मान्यता तथा परम्परा अनुकूल बाह्य संस्कृतिको ग्रहण हो।