डा. गोविन्द केसीले फेरि राखे ३ माग, तीन साताको अल्टिमेटम

Health-Education

डा. गोविन्द केसीले ३ वटा माग राख्दै तीन सातामा पूरा नगरे सत्याग्रह गर्ने चेतावनी दिनुभएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल पूर्वाधार र जनशक्ति पुर्याएर एमबीबीएसको पढाइ सुरु गर्न, आफूसँग २०७५ साउन १० गते भएको सम्झौताअनुसार चिकित्सा शिक्षा ऐनमा संशोधन गर्न र चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम)मा वरिष्ठता मिचेर भएको नियुक्ति सच्याउन माग गर्दै केसीले सत्याग्रहको चेतावनी दिनुभएको हो ।

जुम्लामा रहनुभएका केसीले जारी गरेको विज्ञप्तिमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्नातकोत्तर तहको अनुमति प्रधानमन्त्री केपी शर्मा ओलीले नाजायज रुपमा रोकेको आरोप लगाउँदै तत्काल अनुमति प्रदान गर्न माग गरिएको छ । त्यस्तै केसीले चिकित्सा शिक्षा नियमावली सच्याउँदै स्नातकोत्तर तहमा खुलातर्फ ७० सिट कायम गर्न पनि माग गर्नुभएको छ ।

चिकित्सा शिक्षा अध्ययन संस्थानमा सरकारले वरिष्ठता मिचेर डा. दिव्यासिंह शाहलाई डीन बनाएकोमा पनि केसीले विरोध जनाउनुभएको छ । त्यस्तै कोभिड महामारीको उचित व्यवस्थापन र जवाफदेहिता माग गर्दै हाल अनशनमा रहेका युवाहरुको अभियानमा आफ्नो समर्थन र ऐक्यवद्धता भएको  केसीले बताउनुभयो ।