अमेरिकामा दर्ता भएको सगूनको नेपालमा मिनी आईपीओ संकलन गर्ने कार्य गैरकानूनी देखिएको छ । एक सूचना जारी गर्दै नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नेपालमा लगानी संकलन गर्ने उद्देश्यका साथ विज्ञापन लगायतका गतिविधि गर्ने सगूनको कार्यलाई गैरकानूनी घोषित गरेको हो । विदेशमा दर्ता भएको सगून इन्कर्पोरेसन जस्ता कम्पनीले नेपाली लगानीकर्ताहरुलाई लक्षित गरी धितोपत्र सार्वजनिक निष्काशन जारी गरेको समाचार र विज्ञापन प्रति सार्वजनिक सूचना मार्फत बोर्डले गम्भीर ध्यानाकर्षण जनाएको छ । धितोपत्र सम्बन्धी ऐन २०६३ को दफा २७ (१) मा संगठित संस्थाले नेपालमा धितोपत्र निष्काशन गर्नु अघि बोर्डमा दर्ता गराउनुपर्ने व्यवस्था छ ।
यसैगरी सोही ऐनकै दफा २९(१) अनुसार संगठित संस्थाले एक पटकमा ५० जनाभन्दा बढी व्यक्तिलाई धितोपत्र बिक्री वितरण गर्ने भएमा त्यस्तो धितोपत्र बिक्री वितरणका लागि सार्वजनिक निष्काशन गर्नुपर्ने हुन्छ ।तर सामाजिक सञ्जाल सगूनले भने धितोपत्र सम्बन्धी ऐन तथा कानून विरुद्ध नेपाली लगानीकर्तालाई लक्षित गर्दै पटक पटक मिनी आईपीओकाे नाममा धितोपत्र निष्काशन गर्दै आईरहेको छ । ‘बोर्डको स्वीकृति बिना नेपालमा धितोपत्र निष्काशन गर्ने कार्य गैरकानूनी हो,’ बोर्डले स्पष्ट पार्दै भनेको भनेको छ ।

त्यस्तो धितोपत्रमा लगानी गर्दा विद्यमान कानूनी व्यवस्थाले लगानीकर्ताहरुको हित संरक्षण गर्न नसक्ने भन्दै बोर्डले स्वीकृति प्राप्त धितोपत्र निष्काशनमा मात्र लगानी गर्न लगानीकर्तालाई सचेत गराएको छ । साथै प्रचलित कानून अनुसार स्वीकृति नपाएका त्यस्ता निष्काशनमा लगानीकर्तालाई लक्षीत गरी सञ्चारका माध्यमबाट त्यस्तो सूचना वा विज्ञापन नगर्न नगराउन समेत बोर्डले चेतावनी दिएको छ ।