कोरोना संक्रमित गर्भवती भनेर थाहा पाएपछि चिकित्सकले मानेनन् सल्यक्रिया गर्न

News

नियमित स्वास्थ्य जाँच गर्दै आएकी गर्भवती महिलालाई कोरोना पुष्टि भएपछि चिकित्सक, स्वास्थ्यकर्मी र समुदायले समेत कस्तो दृष्टिकोणले व्यवहार गर्दा रहेछन् भन्ने  पुष्टि भएको छ र अहिलेको भयाभह स्तिथिको यथार्थ चित्रण पनि भएको छ। संविधानमा सुरक्षित प्रजनन् अधिकार मौलिक अधिकार भित्र रहेको छ तर ती महिलाले अधिकारको उपयोग गर्न त परै जाओस अपहेलना समेत भोग्नु पर्‍यो । बुटवल उपमहानगरपालिका-११ नहरपुरकी २८ वर्षीया गर्भवती पेट दुखेपछि गत आइतबार बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल पुगिन् ।

चिकित्सकले गर्भवतीको परीक्षण गरे । उनीले पहिलो सन्तानलाई शल्यक्रिया मार्फत जन्म दिएकी थिइन् । दोस्रो सन्तानका लागि पनि शल्यक्रिया नै गर्नुपर्ने जनाउँदै अस्पतालले  छिटो विधिबाट पिसिआर परीक्षण गर्‍यो,  नतिजा पोजेटिभ आयो । यसपछि चिकित्सकमा अन्यौलता छायो । तत्काल निर्णय हुन सकेन । तीन जना चिकित्सकले संयुक्तरुपमा टाढैबाट बिरामी जाँच गरे । तत्काल शल्यक्रिया गर्नुपर्ने अवस्था नरहेको र अत्यावश्यक पर्दा लुम्बिनी प्रादेशिकमा शल्यक्रिया हुन नसक्ने जवाफ फर्काए । चिकित्सकको टोलीले शल्यक्रियाका लागि नेपालगञ्ज वा काठमाडौं लैजान रिफर समेत गरे । गर्भवतीका श्रीमान् पनि कोरोना पोजेटिभ भएका कारण आइसोलेशनमा छन् । आफन्तले हतारहतारमा एम्बुलेन्स खोजे ।

गर्भवती, त्यसमाथि कोरोना पोजेटिभलाई काठमाडौँ वा नेपालगञ्जसम्म लैजान एम्बुलेन्स चालक सहजै तयार भएनन् । आज मात्रै परिवारका सदस्यले प्रसूतिका लागि गर्भवतीलाई बुटवलबाट निजी साधनमा नेपालगञ्ज लैजाने निर्णय लिए । कोरोना पोजेटिभ भएका गर्भवतीको शल्यक्रिया गर्न नसक्ने लुम्बिनी प्रादेशिक अस्पतालको जवाफ दियो।

लुम्बिनी प्रादेशिक अस्पतालमा सेवासुविधा थप भएको, अस्पतालमा निकै राम्रो सुधार आएको जस्ता समाचार सञ्चार माध्यममा आइरहेका छन् । प्रदेशको राजधानीमै कोरोना पोजेटिभको शल्यक्रिया गर्न नसक्ने जवाफले कोरोनाले महामारीको रुप लिए कति गर्भवतीको बच्चा जन्माउन नसकेरै ज्यान जाने हो भन्ने चिन्ता थपिएको छ ।

अस्पताल प्रशासननले भने कोरोना भाइरस सङ्क्रमित गर्भवती महिलाको उपचार तथा शल्यक्रियाका लागि छुट्टै कक्षको निर्माण गर्ने तयारी गरेको जनाएको छ ।

प्रदेश सरकार र स्थानीय सरकार कोरोना सङ्क्रमण नियन्त्रण तथा सङ्क्रमितको उपचारका लागि सक्षम रहेको बताइरहे पनि समयमै पिसिआर परीक्षण र रिपोर्टको नतिजा नआउँदा समस्या देखिएको छ ।

प्रदेश नं ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले कोरोना रोकथाम र नियन्त्रणका लागि प्रयास भइरहेको जानकारी दिनुभयो । उहाँले कोभिड–१९ सङ्क्रमित गर्भवती महिलाको उपचार तथा शल्यक्रियाका लागि भीम अस्पताल भैरहवामा व्यवस्था मिलाइएको बताउनुभयो ।

“दोस्रो पटकको शल्यक्रिया तथा अन्य शारीरिक समस्या भएको खण्डमा मात्रै अन्यत्र रिफर गरिए पनि सामान्य अवस्थामा भने उपचारको व्यवस्था गरिएको छ”, उहाँले भन्नुभयो । उहाँले भीम अस्पतालमा कोभिड–१९ सङ्क्रमित गर्भवतीका लागि उपचारको व्यवस्था गरिएको दाबी गरे पनि अस्पतालले भने कुनै पनि व्यवस्था नभएको प्रतिक्रिया दिएको छ ।