किशोरीको शंकास्पद मृत्यु अनुसन्धानमा ‘प्रेमी’ पक्राउ

Crime

रुपन्देहीको कञ्चन गाउँपालिका–१ गजेडीकी १६ वर्षीया किशोरीको श‌ंकास्पद मृत्युको घटनामा प्रहरी अनुसन्धान फितलो रहेको भन्दै स्थानीय वासिन्दाले इलाका प्रहरी कार्यालय सालझण्डी घेराउ गरेका छन् ।

प्रहरीले गाउँकै १७ वर्षका सुमन काला मगरलाई पक्राउ गरेर आत्महत्या दुरुत्साहन मुद्दामा अनुसन्धान गरिरहेको छ । आफन्तका अनुसार मृत्यु हुने किशोरी र सुमन प्रेम सम्बन्धमा थिए ।

करुणा र सुमन दुबैजना स्थानीय दुर्गा माविमा कक्षा १० मा अध्ययनरत विद्यार्थी हुन् । उनीहरु एक वर्षअघिदेखि प्रेम सम्बन्धमा रहेको करुणाका अभिभावकले दाबी गरेका छन् ।

सुमनले साउन २२ गते राति ११ बजे एसएमएस गरेर भेट्न बोलाएका थिए । राति १ बजे घरमा कसैलाई थाहा नदिई प्रेमी भेट्न घरदेखि केही टाढा चौरमा गएकी किशोरी अर्को दिन बिहान घर नजिकै जंगलमा झुण्डिएको अवस्थामा फेला परेकी थिइन् ।

किशोरीको गाउँका सामाजिक संघसंस्थाले अनुसन्धान प्रभावकारी बनाउन माग गरेका छन् । परिवार र स्थानीयले घटनामा गाउँका अरु युवाको पनि संलग्नता रहेको दावी गर्दै सबैलाई पक्राउ गरी अनुसन्धानको दायरामा ल्याउन माग गरेका हुन् ।

इलाका प्रहरी कार्यालय सालझण्डीका प्रमुखले घटनामा अरु दोषीलाई उन्मुक्ति दिन खोजेको परिवार र स्थानीयको आरोप छ । घटनाका विषयमा बोले ज्यान लिने भन्दै धम्की दिने सातजना युवाहरुलाई अनुसन्धानको दायरामा ल्याउनुपर्ने परिवार र स्थानीयको माग छ ।

त्यसै राति दुईजनाबीच शारीरिक सम्बन्ध भएको सुमनले प्रहरीसमक्ष स्वीकार गरिसकेका छन् । किशोरीको भित्री वस्त्र र चप्पल चौर नजिक भेटिएको, उनका लुगाका टुक्राहरु ठाउँठाउँमा भेटिएको, शव भेटिएको ठाउँ र उनीहरु बसेको ठाउँको दुरी टाढा भएकाले घटनामा एकजनाको मात्रै संलग्नता नभएको स्थानीय रमेशबहादुर नेपालीले बताए ।

किशोरीकी आमा सम्झनाले आत्महत्या नभई बलात्कारपछि झुण्ड्याएर हत्या गरिएको दावी गरेकी छन् । खाना खाने बेला सुमनसंगै मोबाइलमा कुरा गरेकी करुणा राति केही कपडा समेत लिएर गएकाले सुमनसँगै बिहे गर्न गएकी होला भन्ने ठानेको सम्झनाले बताइन् ।

पोष्टमार्टम रिपोर्टमा झुण्डिएर आत्महत्या गरेको देखिएको इलाका प्रहरी कार्यालय सालझण्डीका प्रमुख प्रहरी निरीक्षक कमल परियारले बताए ।

मृतकका बुवा रनबहादुर घर्तीले करुणाले आत्महत्या गरेको हुनै नसक्ने दावी गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक खड्गबहादुर खत्रीले घटनाबारे अनुसन्धान जारी रहेको र किशोरीको उमेर पनि नपुगेकाले जबरजस्ती करणी अभियोगमा समेत मुद्दा चल्ने बताएका छन् ।