भूकम्पपछिको पाँच वर्षमा पुनर्निर्माणको अधिकांश काम सकिएको प्राधिकरणको दावी

News

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आजदेखि ‘राष्ट्रिय परिसंवाद कार्यक्रम’ सुरु गरेको छ । प्राधिकरणले विगत पाँच वर्षदेखि गरेका कामको अनुभवहरु आदानप्रदान गर्न भर्चुअल माध्यमबाट ‘राष्ट्रिय परिसंवाद कार्यक्रम’ आयोजना गरेको हो ।

तीन दिनसम्म चल्ने कार्यक्रममा २०७२ सालको भूकम्पपछिको पाँच वर्षमा पुनर्निर्माण र पुनस्र्थापना कार्यबाट प्राप्त गरेका अनुभव र सिकाइहरु आदान प्रदान हुने छ । कार्यक्रमको शुभारम्भ गदैं प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पाँच वर्षमा पुनर्निर्माणका अधिकांश कामहरु सम्पन्न गरेको बताउनुभयो ।

सात लाख ९० हजार भन्दा बढी निजी घरहरुको पुनर्निर्माणका लागि अनुदान सम्झौता सम्पन्न भएकोमा हालसम्म ७६ प्रतिशत अर्थात ६ लाख भन्दा बढी घरहरु पुनर्निर्माणको अन्तिम चरणमा पुगेको बताउनुभयो । उहाँले ८८ प्रतिशत घरहरुको दोस्रोचरणको काम सम्पन्न भएको र ९० प्रतिशत घरधनीले निर्माणका लागि सम्झौता गरिसकेको बताउनुभयो ।

ज्ञवालीले पुनर्निर्माण र पुनस्र्थापनाका क्रममा प्राप्त भएका सफलता, उपलब्धी एवं कमीकमजोरीहरुबारे परिसंवादमा समिक्षा हुने र साझा धारणा निर्माण हुने विश्वास व्यक्त गर्नुभयो ।