काठमाडौँ उपत्यकाका स्थानीय तहमा भदौ १५ सम्म अत्यावश्यक बाहेकका सेवा बन्द

News

उपत्यका नगरपालिका मेयर फोरमले स्थानीय तहले दिने अत्यावश्यक बाहेकका सबै सेवा भदौ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । उपत्यका मेयर फोरमको आज काठमाडौंमा बसेको बैठकले काठमाडौं उपत्यकामा कोभिड १९ संक्रमणको अवस्था अझै कम नभएकाले अत्यावस्यक बाहेकका सबै सेवा बन्द गर्ने यस अघिको निर्णयलाई भदौ १५ गते सम्म निरन्तरता दिने निर्णय गरेको हो ।

मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले उपत्यकाभित्र संक्रमणको दर अझैपनि कम नभएकाले अत्यावस्यक बाहेकका सबै सेवा भदौ १५ गते सम्म बन्द गर्ने निर्णय भएको बताउनुभयो । बैठकले निषेधाज्ञाको स्थितिलाई पनि भदौ १५ गते सम्म कायम गर्न उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयलाई सुझाव दिने निर्णय समेत गरेको छ ।

उपत्यका मेयर फोरमका अध्यक्ष समेत रहनुभएका काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले उपत्यकाभित्र संक्रमित व्यक्तिको सम्पर्कमा आएका सबै मानिसहरुको पीसीआर परीक्षण गर्न आवस्यक रहेको बताउनुभयो ।

निषेधाज्ञाको अवस्थामा उपत्यका बाहिरबाट कोहीपनि नआएकाले संक्रमितको सम्पर्कमा रहेका सबैको परीक्षण गर्दा संक्रमणको अवस्थालाई नियन्त्रणमा लिन सकिने मेयर शाक्यले बताउनुभयो ।