प्रहरी हिरासतमा मृत्यु भएका युवकको छानविन शुरु

Crime

रौतहटको गरुडामा प्रहरी हिरासतमा युवकको मृत्यु भएको विषयमा राष्ट्रिय मानव अधिकार आयोगल अनुसन्धान थालेको छ । गरुडा नगरपालिका वडा नम्बर ८ का निरञ्जन रामको हत्यामा संलग्न रहेको आशंकामा पक्राउ गरी प्रहरी हिरासतमा राखिएका विजयराम चमारको मृत्युको विषयमा आयोगले छानविन अघि बढाएको हो । हिरासतमा यातना दिइएको र मृत्यु भएको विषयमा जनकपुरस्थित प्रदेश दुई कार्यालयले अनुसन्धान अघि बढाएको आयोगले आज विज्ञप्ती प्रकाशित गर्दै जानकारी दिएको हो । आयोगले मृतकको स्वास्थ्य परीक्षण प्रतिवेदनको प्रतिलिपि तथा पोष्टमार्टम प्रतिवेदनको प्रतिलिपि समेत प्रहरी र शिक्षण अस्पतालवाट माग गरेको छ । प्रहरी हिरासतमा रहेको व्यक्तिको मृत्यु हुनु अत्यन्त दुःखद् भएको भन्दै आयोगले यस्ता घटनाको सूक्ष्म र निष्पक्ष छानविन तथा अनुसन्धान गरी घटनाका दोषीलाई कानूनी दायरामा ल्याई कारवाही गर्न सरकारको ध्यानाकर्षण समेत गराएको छ । यस्ता किसिमका घटनाको पुनराबृत्ति हुन नदिने र पीडित परिवारलाई तत्कालै उचित राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन पनि आयोगले ध्यानाकर्षण गराएको छ ।