काठमाडाैँ उपत्यकामा कोभिड–१९ का सङ्क्रमित सात हजार ३८ पुगेको छ । दश दिनमा उपत्यकामा दोब्बर सङ्क्रमित थपिएका हुन् । भदौ ८ गते काठमाडाैँ उपत्यकाको तीनवटै जिल्लामा तीन हजार ४८६ जना सङ्क्रमित थिए ।
राजधानी शहरसमेत रहेको उपत्यकामा दैनिक सङ्क्रमित थपिने करिब पाँच सय पुग्न लाग्दा तीनै तहको सरकार सक्रिय बनेको छ । अझै उपत्यकाका स्थानीय तहका पाँच वडाको प्रत्येक वडामा सङ्क्रमित हुने करिब दुई सय पुगेको छ ।
कोभिड–१९ उच्च स्तरीय समितिले बाँडफाँड गरेको जिम्मेवारीबमोजिम सङ्घीय सरकारले लक्षण देखिने सङ्क्रमितको उपचार व्यवस्थापन गर्छ । प्रदेशले स्थानीय तहसँगको समन्वयमा लक्षण नदेखिएका बिरामीको व्यवस्थापन गर्दैआएको छ । स्थानीय तहले कन्ट्याक्ट ट्रेसिङलाई प्रभावकारी बनाउने जिम्मेवारी पाएको छ । काठमाडाैँसहित उपत्यकाका तीन जिल्लामा सङ्क्रमण बढेसँगै उपत्यका नगरपालिका फोरमको बैठक बसी शैया व्यवस्थापनको कार्यलाई तीव्रता दिएको छ । काठमाडाैँ महानगरपालिका सात वटा वडामा मात्रै एक हजारभन्दा बढी सक्रिय सङ्क्रमित छन् । लक्षणविहीन सङ्क्रमितको सङ्ख्या बढी भएकोले पनि स्थानीय तहका लागि सङ्क्रमित व्यवस्थापन चुनौतीपूर्ण छ । नेपालमा करिब ७५ प्रतिशत लक्षणविहीन सङ्क्रमित छन् ।
काठमाडाैँका कोभिड–१९ हटस्पट
महानगरपालिकाको स्वास्थ्य महाशाखाका अनुसार सात वटा वडा सङ्क्रमणको ‘हटस्पट’ पहिचान गरिएको छ । एक सय जनाभन्दा बढी सङ्क्रमित रहेका वडालाई हटस्पटमा राखिएको छ । वडा नं ३२ कोटेश्वर र वडा नं १६ बालाजुमा दुई सयभन्दा बढी सङ्क्रमितको पुष्टि भइसकेको छ । वडा नं २७ महाबौद्ध र वडा नं ३ महाराजगञ्जमा करिब १८५ सङ्क्रमित छन् । वडा नं १४ कलङकी र वडा नं १३ कालीमाटीमा करिब १३५ सङ्क्रमित पुष्टि भएको महानगरपालिकाले जनाएको छ । वडा नं २८ अन्तर्गत पर्ने बागबजारमा १०३ सङ्क्रमित छन् । सङ्क्रमित बढी भएको क्षेत्रमा प्राथमिकता राखेर कन्ट्याक्ट ट्रेसिङ भइरहेको छ । काठमाडाैँमा मात्रै शुक्रबार ३८६ जना सङ्क्रमित पुष्टि भएका छन् । सङ्क्रमितको सम्पर्कमा आएका कम्तिमा एक हजार हुन आउँछ । तर दैनिक एक सयदेखि दुई सङ्क्रमितको सम्पर्कमा आएका व्यक्ति पहिचान गरिएको छ ।
महानगरले कन्ट्याक्ट ट्रेसिङका लागि दशवटा टोली खटाएको छ । टोलिले हालसम्म छ हजार ४१३ जनालाई अलग्याएर पीसीआर परीक्षण गरेको छ ।
आइसोलेसनको व्यवस्थापन स्वास्थ्य मन्त्रालयको प्रोटोकलबमोजिम निर्धारण गरिएको छ ।
काठमाडाैँमा मात्रै करिब छ सयभन्दा बढी लक्षणविहीन सङ्क्रमित होम आइसोलेसनमा छन् । होम आइसोलेसनमा बसेका सङ्क्रमितको चिकित्सकीय परामर्श, खाद्यान्न व्यवस्थापनलगायतबारे सम्बन्धित वडाका जनप्रतिनिधिले सोधखोज गर्दै आएको महानगरको दाबी छ ।
काठमाडाैँ उपत्यकाका तीन जिल्लाका लागि हाल बलम्बु आयुर्वेद चिकित्सालय, खरिपाटीसहितका स्थानमा दुई हजार क्षमताको आइसोलेसन सेन्टर सञ्चालनमा छन् । जसमा करिब एक हजार सात सय जना सङ्क्रमित बसेका छन् । महानगरमा कोभिड–१९ को व्यवस्थापनका लागि ७४ जना स्वास्थ्यकर्मीको टोली छ । काठमाडाैँ महानगरभित्र करिब तीन हजार एक सय जनामा सङ्क्रमण सक्रिय रहेको महानगरपालिकाको अनुमान छ ।