एक महिनामा सङ्क्रमित र निको हुने बराबरी

Health-Education

दुई सातासम्म निरन्तर निको हुने दर ओरालो लागेपछि बुधबार पहिलो पटक अहिलेसम्मकै सबैभन्दा बढी कोभिड–१९ का बिरामी निको भई घर फर्केका छन् । करिब एक महिनापछि नयाँ पुष्टि भएका सङ्क्रमित र निको भएकाको सङ्ख्या बराबर दर्ता गरिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा एक हजार १२० जना सङ्क्रमित थपिएका छन् । एक हजार ११२ जना सङ्क्रमित निको भई घर फर्केका छन् । हाल निको हुने दर ५४.९ प्रतिशत छ । मङ्गलबार ७६८ जना सङ्क्रमित निको भई घर फर्केका थिए ।

सामान्य रुपमा कोभिड–१९ का सङ्क्रमित १५ दिनमा निको हुन्छ । पन्ध्र दिनअघि भदौ २ गते थपिएका सङ्क्रमित र स्वास्थ्य लाभ भएकाको सङ्ख्या पनि बराबर नै छ । भदौ २ गते एक हजार १६ जना सङ्क्रमित थपिएका थिए । जुन अहिलेसम्मकै सबैभन्दा बढी थियो । पन्ध्र दिनपछि भदौ १७ गते एक हजार ११२ जना सङ्क्रमित निको भएका छन् । तर पछिल्लाो एक महिना यता निको हुनेको सङ्ख्या निरन्तर घट्दै गएको थियो । साउन ३१ गतेसम्म १७ हजार २०१ जना निको भएका थिए । त्यति बेला कुल सङ्क्रमित २६ हजार १९ थियो र निको हुने दर करिब ७० प्रतिशत थियो । तर भदौ १७ गते कुल सङ्क्रमित ४१ हजार ६४९ पुगेको छ । निको हुने २३ हजार २९० मात्रै छन् । करिब पचास प्रतिशत बिरामीमा सङ्क्रमण अझै सक्रिय छ ।

साउन तेस्रो साता निको हुने दर ७२ प्रतिशतसम्म पुग्यो । जसले कोभिड–१९ सक्रिय रहेको बिरामी पाँच हजारमा झरेको थियो । तर भदौ तेस्रो साताको सुरुवातमा ५३ प्रतिशतमा पुगेको छ । हाल सक्रिय सङ्क्रमित १८ हजार १०८ छन् ।