राष्ट्रिय सभा सदस्यका लागि वामदेव गौतमभन्दा आफू योग्य भएको भन्दै एक युवतीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा निवेदन दिएकी छन् ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले राष्ट्रपतिबाट मनोनित गर्ने सदस्यका लागि उपाध्यक्ष गौतमको नाम सिफारिस गर्ने निर्णय गरेको छ । बैठकमा प्राधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले नै गौतमलाई सिफारिस गर्ने निष्कर्षमा सरकार पुगेको बताएका थिए ।
गौतमको सट्टा आफूलाई राष्ट्रिय सभामा लैजान आग्रह गर्दै चितवनकी तारा बरालले आइतबार प्रधानमन्त्री कार्यालयमा निवेदन दिएकी हुन् । स्थायी घर चितवनमा रहेकी बराल हाल कीर्तिपुरमा बस्दै आएकी विद्यार्थी हुन् ।
नेपालको संविधानको धारा ८७ ले राष्ट्रिय सभाको सदस्यको योग्यताको बारेमा उल्लेख गरेको छ ।
सो धाराले राषट्रिय सभाको सदस्य बन्नको लागि नेपालको नागरिक भएको हुनुपर्ने, पैंतीस वर्ष उमेर पूरा, नैतिक पतन देखिने फौजदारी कसुरमा सजाय नपाएको, कुनै संघीय कानुनले अयोग्य नभएको र कुनै लाभको पदमा बहाल नरहेको हुनुपर्ने उल्लेख छ । बरालले आफूसँग यो पाँचैवटा योग्यता पूरा भएको बताएकी छन् ।