दशैंसम्म लकडाउन, नाकामा सेना : उपत्यकाका सिडिओहरुको प्रस्ताव

News
उपत्यका भित्रका प्रमुख जिल्लाअधिकारीहरुले काठमाडौं उपत्यका प्रवेशमा थप कडाई गर्नुपर्ने बताएका छन्। प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गतको उपसमितिको आइतबारको बैठकमा उपस्थिति भएका उपत्यका भित्रका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले उपत्यका प्रवेश गर्ने र बाहिरिने मानिसहरुको आवागमनमा थप कडाई गर्नुपर्ने बताएका हुन्। काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले उपत्यका प्रवेश गर्ने पाँच वटै नाकामा सेना परिचालन गर्नुपर्ने बताएका छन्। उनले चाहेर पनि र नचाहेर पनि दैनिक २ हजार भन्दा बढी मान्छेलाई भित्र्याउनु परेको उल्लेख गर्दै नाकालाई ठप्प पार्न नसकिने बताए। अहिले पनि विभिन्न ढुवानीका साधनमार्फत मानिसहरु आइरहेकाले त्यसमा कडाई गर्न सेना परिचालन गर्नुपर्ने आवश्यकता देखिएको दाहालले बताए। ‘सीमा नाकामा कस्तो हुँदैछ भने चाहेर पनि नचाहेर पनि करिब २ हजार मान्छेलाई हामीले काठमाडौं भित्र्याउनै पर्छ। प्रत्येक दिन २ हजार मान्छे भित्र्याउनै पर्छ। यदि २ हजार मान्छे नभित्र्याउने र ठप्प पार्ने भनेको यहाँ ग्यास बाहिरबाट आउँछ, खाद्यान्न बाहिरबाट आउँछ आयातित उपभोग हो काठमाडौंको’, उनले भने, ‘त्यसकारण काठमाडौंमा ठ्याप्पै पार्न अलिक गाह्रो हुँदो रहेछ। अनावश्यक मान्छे हिँडडुल गर्ने कुराका लागि सिमामा कडाई गर्नुपर्ने हुन्छ। सीमामा कडाई गर्न नेपाली सेना नै खटाउनु पर्छ। नेपाली सेनाको एउटा समूह नै पाँचवटै नाकामा राखिदिउँन के फरक पर्छ र भनेर डिडिएमसीबाट निर्णय गरेर पठाइयो तर सिसिएमसीमा सुनुवाई नभएको हो की।’ दाहालले प्रहरीले निगरानी गर्न नसकेको नभई प्रहरीले धेरै काम गर्नुपर्दा भ्याइ नभ्याइ भएकाले सीमा नाकाको निगरानी कमजोर भएको बताए। सडकका जड्याहालाई उठाउनेदेखि सुन चोरसम्मलाई पक्राउ गर्नुपर्ने जिम्मेवारीले प्रहरीलाई भ्याइ नभ्याइ भएकाले सिमानामा नेपाली सेना नै खटाउनुपर्ने उनले बताए। भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले उपत्यका प्रवेश गर्ने नाकाहरूबाट मान्छे प्रवेश गराउन माथिल्लो तहका जिम्मेवार निकायबाट दबाब आउने गरेको बताइन्। ‘हामीलाई कस्तो दबाब आउँछ बुझ्नुपर्ने, निर्णायक तहमा बस्नुभएको जिम्मेवार व्यक्तिले नै नाकामा आउनुहुन्छ अथवा नाका भन्दा उता गाडी ल्याएर त्यहाँबाट मान्छेलाई यता ल्याउने प्रवृत्ति पनि देखिन्छ’, उनले भनिन्, ‘योजनावद्ध रुपमा मानिसहरुलाई उपत्यका प्रवेश गर्न दिने विषयमा सबैको ध्यान जानुपर्ने आवश्यकता छ।’ उनले मान्छेलाई आउनै दिन्न भन्दा पनि जिम्मेवार रुपमा कसरी ल्याउने वा पठाउने तर्फ काम गर्नुपर्ने आवश्यकता रहेको बताइन्। ‘एउटा योजनावद्ध तरिकाले ल्याउनुपर्ने मान्छेलाई पनि योजनाभित्र राखेर ल्याउने बाहिर जानुपर्ने मान्छेलाई पनि योजनाभित्र राख्ने भन्नुको मतलब यसको कन्ट्याक्ट राखेर कन्ट्याक्ट ट्रेसिङ गरेर मात्र ल्याउने गर्नुपर्छ’, उनले भनिन्। ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले दशैं सम्म निषेधाज्ञालाई निरन्तरता दिनुपर्ने बताए। चाडपर्वको समयमा मानिसहरुको आवागमन पनि बढ्ने भएकाले त्यसलाई रोक्न अहिलेदेखि नै केही क्षेत्रलाई सञ्चालन गर्न दिदै जनजीवन सहज बनाई निषेधाज्ञाको अवस्थालाई निरन्तरता दिनुपर्ने बताए। ‘अब हाम्रासामु चाडवाड आइरहेका छन्। दशैँजस्तो ठूलो चाड आएको छ। मानिसहरुको अति ठूलो भावना हुँदो रहेछ। त्यो अहिले हामीले व्यहोरिरहेका छौं। जात्रा, संस्कृति र पर्वहरू भनेपछि बरु ज्यान फाल्न पनि तयार हुँदो रहेछ’, उनले भने, ‘दशैँमा पनि त्यस्तो हुन सक्छ। त्यसो भएको हुनाले दशैं सम्म हामीले यसलाई कुनै न कुनै रुपमा अलिकति केही खुकुलो बनाएपनि यो स्थिति कायम गर्नैपर्ने हुन्छ।’ उनले मानिसहरु आउने जाने क्रमले अवस्था भयावह हुने बताए। ‘मानिसहरु दशैँमा घर जाने भन्ने हुन्छ, जमाना देखि गरि आएको चिज यो ठूलाबडाको हातबाट टीको थाप्नै पर्ने हुन्छ जे सुकै भएपनि आशीर्वाद लिनुपर्छ भन्ने खालको यो यो सेन्टिमेन्टमा, यो इमोसनमा झन भयावह स्थिति हुनसक्छ’, उनले अगाडि भने, ‘त्यसलाई पनि विचार गरेर यो दशैं सम्म अझै सहजीकरण गर्ने तर यसलाई त्यो बेला सम्म निरन्तरता दिनुपर्छ जस्तो लाग्छ।’ नगरपालिका मेयर फोरमका सचिव एवं मध्यपुर थिमि नगरपालिका प्रमुख मदनसुन्दर श्रेष्ठले अहिले उपत्यकामा लागु भएको तेस्रो चरणको निषेधाज्ञा नाम मात्रैको भएको बताए। विहान ११ बजेसम्म सबै पसल खोल्न पाउने, २ बजेदेखि सबै ढुवानी सञ्चालन गर्ने र सडकमा सवारी चलाउन पाउने हो भने निषेधाज्ञा गर्नुको अर्थ नहुने उनले बताए।