कैलाली प्रहरी हत्या प्रकरण : १३ जना पक्राउ

Crime

कैलालीको धनगढी उपमहानगरपालिका-१० स्थित मोहना नदी किनारमा हत्या गरिएका प्रहरीको केराउ (मटर) तस्करले हत्या गरेको खुलेको छ।

कैलालीको जुगेडा अस्थायी प्रहरी पोष्टका प्रहरी सहायक निरीक्षक गोविन्द विक र जवान रामबहादुर साउदको शनिबार राति हत्या भएको थियो।

असई विकको धनगढी-१० को नेपाल र भारतको सीमाना छुट्याएर बग्ने मोहना नदीको बीचमा आइतबार बिहान शव भेटिएको थियो भने जवान साउदको शव मंगलबार बिहान मात्र भेटिएको छ ।

अहिले सीमा क्षेत्रमा भियतनामबाट नेपाल आएका केराउ भारत तस्करी हुने गरेका छन्। भारतमा केराउ (मटर) किलोको भारु ७० (नेपाली ११२) छ तर नेपालमा भियतनामबाट आएको केराउको मूल्य ६५ रुपैयाँ किलो पर्छ। तेस्रो मुलुकबाट आयात गरिएको सामान निर्यात गर्न नपाउने नियम अनुसार प्रहरी सीमा क्षेत्रमा केराउको तस्करी रोक्न गएको थियो।

विशेष सूचनाका आधारमा प्रहरी सहायक निरीक्षक विक र जवान शनिबार राति ७ बजे खाना खाएर सीमाना तिर लागे। उनीहरुले तस्करीको सामानका लागि करिब साढे तीन घण्टा ढुकेको देखिन्छ’, कैलालीका प्रहरी प्रवक्ता डीएसपी प्रतिक विष्टले बताए।