यो वर्षको साउन र भदौ महिनाको तथ्यांक अनुसार रेमिट्यान्स ८ दशमलव १ प्रतिशतले बढेको छ । राष्ट्र बैंकले देशको आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै साउन र भदौमा १ खर्ब ६५ अर्ब ७३ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको जनाएको छ। कोरोनाका कारण वैदेशिक रोजगारीमा गएका धेरै युवाले रोजगारी गुमाएको र कामको खोजीमा विदेशिने संख्या करिब ठप्प हुँदा समेत रेमिट्यान्समा भने कुनै नकारात्मक असर परेको छैन ।
डलरमा पनि रेमिटेन्स २ दशमलव ६ प्रतिशतले बढेर १ अर्ब ३९ करोड डलर पुगेको छ । रेमिट्यान्स बढे पनि वैदेशिक रोजगारीमा जानेको संख्या भने यो अवधिमा करिब ठप्प नै रहेको छ । साउन र भदौमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिनेको संख्या ९९ दशमलव २ प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ । साउन र भदौमा आयात २२ प्रतिशतले घटेको तथा निर्यात बहने साढे १० प्रतिशतले बढेको छ ।
रेमिट्यान्स आप्रवाह र निर्यातमा वृद्धि तथा आयातमा आएको कमीले चालु खाता २६ अर्ब ७ करोड रुपैयाँले बचतमा पुगेको छ । यस्तै गत वर्ष ८ अर्ब ८३ करोड बचतमा रहेको शोधनान्तर ६७ अर्ब ६३ करोड रुपैयाँ बचतमा छ । साउन र भदौमा विदेशी मुद्राको सञ्चिति १२ अर्ब २० करोड अमेरिकी डलर नाघेको छ । यसबाट साढे १६ महिनाको आयात धान्न सकिने राष्ट्र बैंकले उल्लेख गरेको छ ।
पोहोर भदौमा ६ प्रतिशतमाथि रहेको मूल्यवृद्धि यसपाली भने ४ दशमलव ५२ प्रतिशतमा सीमित भएको समेत राष्ट्र बैंकले जनाएको छ ।