व्यवसायीका अनुसार आधाभन्दा बढी व्यापारमा मन्दी आएको दुखेसो गर्छन् । कोरोनाका कारण धेरै मानिस उपत्यका भित्रिन सकेका छैनन्, आएकाहरु पनि सकेसम्म बजार जान खोज्दैनन् ।
काठमाडौँको महाबौद्ध, असन, इन्द्रचोक, न्यूरोड यहाँको मुख्य व्यापारिक केन्द्र हो । कात्तिक लागेपछि व्यापारिक केन्द्रमा मानिसको चहलपहल भने बढेको छ तर खरिद बिक्री भने कम रहेको स्वयं व्यापारीको भनाइ छ ।
विगतका वर्षहरुको स्मरण गर्ने हो भने चाडबाडको मुखमा नेपालका मुख्य व्यापारिक केन्द्र यतिबेला मानिसको थेगिनसक्नु भीड हुन्थ्यो । सामान बिक्री गर्न व्यापारीलाई भ्याइनभ्याई हुन्थ्यो ।भीडले गल्लीका गन्तव्य छिचोल्न मुस्किल पर्दथ्यो । व्यापारीहरु भूकम्प आउँदासमेत यस्तो मन्दी नभएको अनुभव सुनाउँछन् ।
सरकारले व्यवसाय चलायमान बनाउन आवश्यक सुरक्षा मापदण्डको प्रयोग गरी गतिविधि खुला गरेको छ । अझ धेरै चहलपहल हुने सिनेमाहलजस्ता व्यापारिक केन्द्र खुलेका छैनन् ।
यसपटक इतिहासकै व्यापारिक मन्दी भएको व्यापारीहरूको बुझाइ छ । उपत्यकाको मात्रै होइन, जिल्लाका व्यापारिक केन्द्रमा पनि सोचेअनुसारको चहलपहल हुनसकेको छैन जसका कारण भाडामा बस्ने व्यवसायीले थप क्षति व्यहोर्नुपरेको छ ।