नेपाली काँग्रेसले यस वर्ष कोजाग्रत पूर्णिमाका दिन चियापान समारोह आयोजना नगर्ने भएको छ । वि.सं. २०३३ सालमा बिपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर स्वदेश फर्केपछि २०३४ सालदेखि काँग्रेसले प्रत्येक वर्ष कोजाग्रत पूर्णिमाको दिन शुभकामना आदानप्रदानसँगै चियापान कार्यक्रम आयोजना गर्दै आएको थियो । तर यस वर्ष कोभिड–१९ का कारण कार्यक्रम नगरिने काँग्रेसले जनाएको छ ।
“विश्वव्यापी रूपमा फैलिएको कोभिड–१९ संक्रमण महामारीका कारण यस वर्षकोे कात्तिक १४ गते कोजाग्रत पूर्णिमाको दिन हुने शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना नगरिने व्यहोरा सबैलाई जानकारी गराइन्छ,” कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्तिमार्फत उल्लेख गरेका छन् ।