ओली–गोयल भेटको तरंग : नेकपा सिर्ष नेताहरुबाटै निरन्तर विरोध

Politics

भारतीय गुप्तचर संस्था रअका प्रमुख सामन्तकुमार गोयलसँगको भेटवार्तालाई लिएर सत्तारुढ नेकपाकै नेताहरु दुईधारमा देखिएका छन् ।

प्रधानमन्त्री ओली निकट नेताहरुले गोयलसँगको भेटको बचाउ गरेपनि अर्काअध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधव नेपाल पक्षले भने यसको विरोध गरेका हुन् ।

रअका प्रमुखसँगको भेटलाई लिएर सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी ओली, पुष्पकमल दाहाल र माधव नेपाल पक्षभित्र पुनः मतभेद शुरु भएको छ । प्रधानमन्त्री ओलीले गतहप्ता रअका प्रमुख सामन्त गोयललाई तीन घण्टासम्म भेटेपछि दाहाल र नेपाल पक्षधर नेताहरुले यसको विरोध गरेका हुन् । पार्टीका प्रवक्ता नारायाणकाजी श्रेष्ठले समेत ओली र गोयलबीचको भेट कुटनीतिक मर्यादाविपरीत भएको टिप्पणी गरेका छन् ।

पार्टीका नेताहरुलाई समेत जानकारी नगराई प्रधानमन्त्रीले भारतीय कर्मचारीसँग घण्टौँ संवाद गर्नु गलत भएको कतिपय नेताको बुझाइ छ । परराष्ट्र मन्त्रालयलाई समेत औपचारिक जानकारी नगराई संवाद गर्नु गलत भएको भन्दै नेकपाका नेता भीम रावलले समेत प्रष्टीकरण माग गरेका छन् ।

विज्ञहरुदेखि नेकपाकै नेताहरुले समेत रअ प्रमुखसँगको भेटको आलोचना गरे पनि केहीले भने यसलाई मोदीकै निर्देशनमा भएको भेटवार्ताको संज्ञा दिएका छन् । रअका प्रमुखसँगको भेट र सेनापति नरवाणेको भ्रमणको प्रभाव कस्तो पर्छ भन्नेमा सरोकारवाला नै आशंकित छन् ।