अर्काकी श्रीमती भगाएर तेस्रो बिहे गर्ने वडाध्यक्ष पक्राउ

News

प्रहरीले सल्यानको वनगाड कुपिण्डे नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष पक्राउ गरेको छ । अर्काको श्रीमती भगाएर तेस्रो बिहे गरेको आरोपमा वडाध्यक्ष इन्द्रबहादुर कुमाई पक्राउ परेका हुन् ।

वडाध्यक्ष कुमाईलाई शुक्रवार साँझ जयतपानी बजारबाट नियन्त्रणमा लिएको सल्यानका प्रहरी निरीक्षक (इन्सपेक्टर) लक्ष्मण वलीले जानकारी दिए । कुमाईका यसअघि नै दुई श्रीमती रहेको अनुसन्धानबाट खुलेको छ ।

इन्सपेक्टर वलीका अनुसार वडाध्यक्षले तेस्रो बिहे गरेका भनिएकी ग्वामी विष्टलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ । दुवै श्रीमतीतर्फ ४ जना छोराछोरी छन् ।

वडाध्यक्षले नै तेस्रो बिहे गर्दा पनि कानूनी कारबाही नगरेको भन्दै स्थानीयवासीले विरोध गरेका थिए । वडाध्यक्षले तेस्रो बिहे गरेको भन्दै सोही वडाका पाँचजना स्थानीयवासीले प्रहरीमा बहुविवाहको जाहेरी दिएपछि कुमाईलाई पक्राउ गरिएको इन्सपेक्टर वलीले बताए ।

पक्राउ परेका कुमाई र बिष्टलाई प्रहरी हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।