तीन तर्फबाट भारतीय भूमिले घेरिएको पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका वडा नं. ५ मा पहिलोपटक बिजुली बलेको छ।
बिजुली बाल्ने वर्षौंदेखिको सपना पूरा भएपछि सुस्ताबासीको मुहारमा पनि उज्यालो छाएको छ। सुस्तामा बिजुली विस्तार गर्न वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको सहयोगमा एक सय किलोवाट क्षमताको सौर्य मिनिग्रिड परियोजना सञ्चालन गरिएको थियो।
चार करोड ९० लाख रुपैयाँ लगानीले उक्त परियोजना सम्पन्न भएपछि बिजुलीको उज्यालोमा बस्ने स्थानीयको सपना पूरा भएको हो।
परियोजना सम्पन्न गर्न वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले २ करोड ८८ लाख अनुदान उपलब्ध गराएको थियो भने तराई-मधेस समृद्धि कार्यक्रमको १ करोड ७५ लाख र सुस्ता गाउँपालिकाले १७ लाख ३६ हजार लगानी गरेको छ।
तिनतर्फको भूमि भारतीय भूमिसँग जोडिएको र नारायणी नदीमा डुंगा खियाएर पार गर्नुपर्ने सुस्ता गाउँबासी विद्युतको केन्द्रीय प्रसारण लाइनको पहुँचबाट टाढा थिए।
अहिले भने सोलार प्यानलमार्फत् बिजुली बत्ती बालिएको हो। यस वर्षको दीपावलीको दिन पहिलोपटक गाउँमा बिजुलीको झिलिमिली उज्यालो बालिएको स्थानीय सवनम खातुनले बताइन्। गाउँमा बिजुली पुगेपछि स्थानीयले खुसी मनाउँदै नाचगान गरेका थिए।
सौर्य ऊर्जामार्फत बिजुली बाल्ने उद्देश्य अनुरुप २०७६ साल कात्तिक ५ गते टपसन इनर्जी प्रा.लि.ले परियोजना निर्माणको सुरुवात गरेको थियो। गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले सौर्य मिनिग्रिड जडान गरी निकालिएको बिजुलीबाट सुस्ताका २ सय ६६ घरधुरीका ३ हजार बढी जनसंख्या लाभान्वित भएको बताए।
सुस्ता पुग्न नारायणी नदीमा डुंगा खियाएर जानुपर्ने बाध्यता छ। जसका कारण राष्ट्रिय प्रसारण लाइन विस्तार गर्न नसकिएपछि सौर्य मिनिग्रिडबाट बिजुली विस्तार गरिएको अध्यक्ष पाण्डेले बताए।
पोल नै गाडेर सुस्ताका प्रत्येक घरमा बिजुली पुर्याइएको छ। बिजुली पुगेपछि बालबालिकाहरूको पठनपाठन र अन्य कामका लागि सहज भएको छ। स्थानीय सकिला खातुनले मट्टीतेल बालेर पढ्ने बालबालिकाहरूलाई बिजुली पुगेपछि सजिलो भनएको बताइन्।
सुस्ता मिनिग्रेड परियोजना उपभोक्ता समितिका अध्यक्ष रविन्द्र जयसवालले सोलारबाट बिजुली विस्तार भएपछि त्यहाँ रहेका साना कुटिल उद्योग सञ्चालन गर्न पनि सहज भएको बताए। सुस्तामा उखु खेती गर्ने किसान धेरै रहेको कारण त्यहाँ सञ्चालित १३ वटा बढी उखु क्रसिङ गर्ने साना उद्योगलाई पनि सहज हुने उनले बताए।
नारायणी नदीमा आएको बाढीले धार परिवर्तन गरेपछि २०२२ सालदेखि सुस्ता क्षेत्र नदीपारिको गाउँमा सीमित बन्न पुगेको छ।
५५ वर्षभन्दा बढी टुकीको भरमा बस्दै आएका सुस्ताबासी बिजुली विस्तारका लागि पटक-पटक काठमाडौंसमेत पुगेका थिए।
भारतीय पक्षसँग लडेर नेपाली भूमि जोगाउँदै आएका सुस्तावासी अहिले पनि शिक्षा, स्वास्थ्य लगायतका सामान्य सेवा सुविधाबाट बञ्चित छन्।
सुस्तामा सौर्य ऊर्जामार्फत बिजुली बलेजस्तै पछिल्लो समय सुरक्षित आवास, सडक स्तरोन्नति, झोलुङगे पुल, खानेपानी, तटबन्ध लगायतका पूर्वाधार निर्माण भइरहेको गाउँपालिका अध्यक्ष पाण्डेले बताए।
हाल नेपाली भूमिबाटै सुस्तामा जान मिल्नेगरी नारायणी नदीमा झोलुङगे पुल निर्माण भइरहेको छ। सीमा विवादको विषयलाई पनि प्राथमिकताका साथ सरकारले टुंगो लगाइदिए भारतीय पक्षबाट बेलाबखत हुने गरेको अतिक्रमणबाट छुटकारा मिल्ने जयसवालले बताए।