शेयर बजारसम्बन्धी नीतिगत परिवर्तन भएको छैन-राष्ट्र बैंक

Economy

आइतबार नेपाली शेयर बजारमा उच्च्दरले परिसूचक र कारोवार घटेपछि नकारात्मक सर्किट लागेर कारोबार स्थगित भएको छ ।

गत विहिबार २०५० पुगेर बन्द भएको नेप्से परिसूचक आइतबार १ सय २३ अंक एवं ६ प्रतिशतले घटेर १ हजार ९ सय ३२ अंकमा झरेको छ ।

आइतबार बजारमा ७ अर्ब २० करोड ९१ लाख रुपैया बराबरको कारोबार भएको छ ।

आइतबारको बजारमा चार कम्पनी, एक सामूहिक लगानी कोषको एकाइ र दुई बैंकको ऋणपत्रको मूल्य बढेको छ भने बाँकी सबै उपसमूहको कारोबार ओरालो लागेको छ ।

लगानीकर्ताले एकै दिनमा एक खर्ब ६५ अर्ब ३२ करोड रुपैयाँ गुमाएका छन् । गत बिहिबार २७ खर्ब ५५ अर्ब ६ करोड रुपैयाँ पुगेको बजार पुँजीकरण आइतबार २५ खर्ब ८९ अर्ब ७४ करोड रुपैयाँमा झरेको छ ।

यसैबीच सेयर बजारका लागनीकर्ताहरुले आइतबार नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीसँग भेट गरेका छन् ।

भेटमा सहभागी नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियारले राष्ट्र  बैंकले लगानीकर्तासँग छलफल गरेर मात्रै शेयरबजार सम्बन्धी नीतिगत व्यवस्थामा परिर्वतन गर्ने डेपुटी गभर्नर शिवाकोटीले बताउनु भएको जानकारी दिनु भयो ।।