सैन्य क्षमता बिस्तार गर्ने उत्तर कोरियाको घोषणा

International

उत्तर कोरियाका नेता किम जोङ्ग–उनले अमेरिका आफ्नो सबैभन्दा ठूलो शत्रु रहेको बताएका छन्। सत्तामा जो नै आए पनि अमेरिकाले आफ्नो देशप्रतिको रणनीति परिवर्तन गर्ने कुनै अपेक्षा नरहेको नेता किमले बताएका हुन्।

सत्तारुढ वर्कर्स पार्टीको कंग्रेसलाई सम्बोधन गर्ने क्रममा नेता किमले उत्तर कोरियाको परमाणु हतियार तथा सैन्य क्षमता बिस्तार गर्ने पनि घोषणा गरेका छन्।

न्यूक्लियर सबमरिन बनाउने योजना लगभग पूर्णता पाउने अवस्थामा पुगेको उनले बताए। अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले सत्ता सम्हाल्ने बेला हुँदै गर्दा नेता किमको टिप्पणी आएको हो।

आउँदै गरेको अमेरिकी नयाँ प्रशासनमाथि दबाब बढाउनका लागि किमले यस्तो टिप्पणी गरेको विश्लेषकले बताएका छन्।

बाइडेनले जनवरी २० मा अमेरिकाको ४६ औँ राष्ट्रपतिका रुपमा शपथ लिँदै छन।

नेता किम र बिदा हुँदै गरेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबिच निकट सम्बन्ध थियो। दुईजनाबिच औपचारिक रुपमा वार्ता समेत भएको थियो। तर परमाणु हतियार नियन्त्रणमा सो वार्ता सफल भने हुन सकेन।

वर्कर्स पार्टीको आठौँ कंग्रेसलाई नेता किमले सम्बोधन गर्दै शत्रु शक्तिले आफूविरुद्ध आक्रमण नगरेसम्म परमाणु हतियारको प्रयोग नगर्ने बताएका छन्।