धनगढी : भारतमा दोस्रो चरणको कोरोना संक्रमण फैलिएसँगै त्यहाँ रहेका नेपालीहरू स्वदेश फर्किन थालेका छन्। भारतका केहि प्रदेशमा लकडाउन गरिएपछि नेपालीहरू घर फर्किन लागेका हुन्।
सुदूरपश्चिममा कोरोना जोखिम बढ्न नदिन कैलाली र कञ्चनपुरको सीमा नाकामा प्रदेश सरकारले हेल्थ डेस्क स्थापना गरेको छ। हेल्थ डेस्कमार्फत भारतबाट फर्किने नेपालीको एन्टिजेन परीक्षण गरिरहेको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले बताए।
गर्मी बढेसँगै फेरि कोरोना भाइरस सक्रिय बन्न थालेपछि धनगढी उपमहानगरले स्वास्थ्य सुरक्षा सतर्कता बढाउन आग्रह गरेको छ। उपमहानगरले भारतमा कोरोना भाइरस संक्रमण बढ्दो क्रममा रहेकाले उताबाट आउनेका कारण संक्रमण फैलिन सक्ने भन्दै सचेत हुन आग्रह गरेको हो।
उपमहानगरले संक्रमण बढ्न सक्ने भएकाले भीडभाडमा जाँदा अनिवार्य सामाजिक भौतिक दूरी कायम गर्न, मास्कको अनिवार्य प्रयोग तथा साबुन पानीले राम्रोसँग हात धुन, स्यानिटाइजरको प्रयोग गर्न आग्रह गरेको छ।
गड्डाचौकी नाका हुँदै नेपाल भित्रिएका तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ। भारतबाट फर्किएका तीन जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका कोभिड सम्पर्क व्यक्ति सिद्धराज भट्टले जानकारी दिए।
भारतमा कोरोना संक्रमण बढेसँगै नेपाल आउनेको संख्या बढेको छ। यो सँगै कोरोना संक्रमित फेला परे कहाँ राख्ने भन्ने अन्यौलता पनि बढेको छ।