एक वर्षदेखि अवैध रूपमा बसिरहेका अमेरिकी नागरिक

News

उत्तरी म्याग्दीको पर्यटकीय स्थल अन्नपूर्ण गाउँपालिका–५ शिखमा एक अमेरिकी नागरिक एक वर्षदेखि अवैध रूपमा बस्दै आएका छन्।

संयुक्त राज्य अमेरिकाको क्यालिफोर्नियाका ५२ वर्षीय प्रि जोइल नेपाल भ्रमणको भिसा सकिएको एक वर्षभन्दा बढी भए पनि उनी अझै निर्वाध रुपमा शिखमा बसेका हुन्। जोइल ५२२४५ नम्बरको राहदानीबाहक हुन्।

२०७६ मङ्सिर महिनादेखि शिखको सियु होटलमा बस्दै आएका जोइलको राहदानीमा पछिल्लो पटक थप गरिएको भिसाको म्याद सन् २०२० मार्च १८ गते सकिएको थियो।

त्यसपछि नेपाल बस्ने उनलाई कानुनी अनुमति छैन। होटल सञ्चालक यामकुमारी पुनले जोइलले आफ्नो देश फिर्ता हुन इच्छा नदेखाएको बताइन्। ‘केही समस्या बताउनुहुन्न, पैसा मगाएर खाएको बसेको तिरेर जान्छु भन्नुहुन्छ। कसरी पठाउने भन्ने अलमलमा परेका छौँ। गाउँपालिकाका अध्यक्षले एक दुई दिनमा दूतावासमा लगेर बुझाइदिने भन्नुभएको छ,’ उनले भनिन्। एक्लै रहेका जोइलले असामान्य व्यवहार र गतिविधि गर्छन्। खेतबारीमा खाडल खन्ने, किलो गाड्ने र एक्लै डुल्ने गर्छन्। स्थानीयवासीले उनको मानसिक अवस्था र गतिविधिप्रति शंका गरेका छन्। आफ्नो देशमा अपराधमा संलग्न भएको र मुद्दा चलेका कारण नेपालमा आएर लुकेर बसेको हुन सक्ने उनीमाथि शंका गरिएको छ।

अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले अन्नपूर्ण संरक्षण क्षेत्रभित्र पर्ने भएकाले ती नागरिकलाई आफ्नो देश पठाइदिन एक्यापले नै पहल गर्नुपर्ने भए पनि नगरेपछि आफैँले अमेरिकी दूतावासमा लगेर बुझाइदिने तयारी गरेको बताए।

भ्रमणमा आएका विदेशी नागरिक अनुमति पाएको भन्दा बढी समय बस्न नपाउने कानून छ। बाध्यात्मक कारण भएमा अध्यागमन विभागबाट म्याद थप गर्नुपर्छ।अवैध रूपमा बस्नेलाई पक्राउ गरेर जरिवाना तिराउने र अध्यागमन विभागमार्फत सम्बन्धित देशको दूतावासमा बुझाउने कानुनी प्रक्रिया छ।

नेपालमा कोरोना भाइरस रोकथामका लागि लकडाउन हुनुअघि नै अमेरिकाले दूतावासमार्फत आफ्ना नगरिकलाई स्वदेश फर्कन सूचना जारी गरेको थियो।

जहाज चार्टर गरेर नागरिकलाई आफ्नो देश लगेको थियो। लकडाउन हटेपछि अधिकांश भिसा सकिएका विदेशी नागरिक कानुनी प्रक्रिया पूरा गरेर आफ्नो देश फर्किएका छन्।