७१ वर्षे वृद्धले २४ हजारपटक फोन गरेपछि…

Interesting

फोन कम्पनीलाई आफ्नो गुनासो सुनाउनका लागि हजारौंपटक फोन गरेपछि जापानमा एकजना वृद्ध पक्राउ परेका छन् । करार सम्झौता उल्लंघन भएको विषयमा गुनासो गर्नका लागि उनले टेलिफोन सेवा प्रदायक कम्पनीमा २४ हजारपटक फोन गरेका थिए ।

७१ वर्षका आकिटोसी ओकामोटो नामका व्यक्तिले हालै लगातार आठ दिनसम्म जापानको टेलिफोन सेवा प्रदायक कम्पनी केडीडीआईको टोल फ्री नम्बरमा लगातार फोन गरेका थिए ।

टेलिकम कम्पनीले आफूसँगको सम्झौताविपरीत काम गरेको गुनासो गर्न तथा टेलिकम कम्पनीका कर्मचारीमाथि फोनबाटै गालीगलौज गर्नका लागि उनले ८ दिनभित्रमा २४ हजारपटक फोन गरेका थिए ।

प्रहरीका अनुसार, ती व्यक्तिले टेलिकम कम्पनी आफूसँग माफी माग्न आउनुपर्ने अडान राखेका थिए । र, निरन्तर फोन गरेर सोही अडान देहोर्‍याइरहे । फोनले हैरान पारेपछि व्यवसायमा अवरोध गरेको अभियोग लगाउँदै पक्राउ गरिएको छ ।