प्रतिकूल मौसमका कारण दुई दिनदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान प्रभावित भएको छ । मौसम खराबीले भिजिबिलिटी कम हुँदा मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवै उडान प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ ।
विमानस्थलबाट बिहान प्रस्थानतर्फ केही उडान भएपनि अहिले यान्त्रिक पद्धत्ति (आईएफआर)बाट मात्रै उडान भइरहेको विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले जानकारी दिए । उनका अनुसार विमानस्थलमा भिजिबिलिटी कम हुँदा अहिले आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवैतर्फ आईएफआर उडान मात्रै भइरहेको छ ।
यसअघि शुक्रबार बिहान केही संख्यामा उडान भएपनि मध्याह्नपछि उडान प्रभावित भएको थियो । विमानस्थलले करिब दुई घण्टा प्रभावित भएको उडान साँझदेखि आईएफआर उडान खुलाइएको थियो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिकतर्फ १० हेलिकप्टरसहित १९ हवाइसेवा प्रदायक कम्पनीले उडान भर्दै आएका छन् । अन्तर्राष्ट्रियमा तीन नेपालीसहित ३० वायुसेवा प्रदायकले उडान भर्दै आएकामा अहिले कोभिड–१९ महामारीपछि अहिले १९ वायुसेवा कम्पनीले उडान सञ्चालन गरिरहेका छन् ।