बागलुङ बजारमा ठूलो आगलागी, उद्योगधनीलाई हृदयघात, स्थानीय बेहोस

News

सदरमुकामस्थित बागलुङ नगरपालिका वडा नं. ३ को सिर्जना फर्निचर उद्योगमा आगलागी हुँदा लाखौंको क्षति भएको छ।

शनिबार राती २ बजे अचानक आगो लागेपछि बागलुङ, पर्वत र म्याग्दीका तीनवटा दमकलले आगो निभाइरहेका छन्,आगो निभाउन नेपाली सेना, सशस्त्र र जनपथ प्रहरी तथा बागलुङ, बेनी र कुश्मा नगरपालिकाका कर्मचारी तथा प्राविधिकहरू खटिएका छन्। ‘राती अचानक आगोको लप्का देखिएपछि नजिकैका महिलाहरू कराउन थाले, त्यसपछि मात्रै सबै मिलेर निभाउने प्रयास गर्‍यौं, केही लागेन,’ स्थानीय मञ्जुल शाक्यले भने, ‘आगोले वरिपरिका घरपरिवारले समेत सामान सारेका छन्।’

तत्काल दमकल खोजी गरेर नियन्त्रण प्रयास भएको र प्रहरीको एउटा दमकलबाट संभव नदेखेपछि अन्यत्रका दमकल पनि मगाइएको उनले बताए।

फर्निचर उद्योगका संचालक विराट बोहोरालाई हृदयाघात भएको छ। उनलाई धौलागिरी अस्पतालमा पुर्‍याएर उपचार गरिएको छ। उक्त घटना देखेर अन्य छिमेकी समेत बेहोस भएका थिए।

‘अहिलेसम्म यस्तो ठूलो आगलागी देखिएको थिएन,’ स्थानीय मनिषा शर्माले भनिन्, ‘सबै मिलेर समयमा खवर नगरेको भए नजिकका घरहरू पनि ध्वस्त हुने थिए।’

साँघुरो गल्लीका कारण आगलागी नियन्त्रणका दमकल ल्याइँदा विद्युत, टेलिफोन लगायतका तार समेत चुँडिएका छन्। बानपा-३ का अधिकांश स्थानमा अहिले पनि विद्युत सेवा अवरुद्ध छ।