च्यासलवासीले गुठी घरमा बनाए अक्सिजनसहितको आइसोलेसन

Health-Education

अस्पतालहरू कोरोना संक्रमितले भरिएपछि ललितपुरको च्यासलमा च्यासः मंका, च्यासल युवा क्लब र च्यासल युवा रेडक्रस सर्कल मिलेर गुठी घरमा अस्थायी आइसोलेसन सेन्टर  आइसोलेसन बनाएका छन् ।

च्यासः मंका खलका अध्यक्ष श्याम व्यञ्जनकारलाई एक हप्ताअघि अस्पतालमा बेड चाहियो भन्दै साथीको फोन आयो । उनले तीन/चारवटा अस्पतालमा बेडका लागि पहल गरे । तर, सबै अस्पतालले ‘प्याक’ भएको जवाफ फर्काए । कोरोना संक्रमण व्यापक फैलिएको छ । अस्पतालमा बेड पाइन्न । ओहो ! अब के गर्ने ? तत्कालै उनले टोलका साथीहरूसँग छलफल गरे । र, निचोड निकाले टोलमै अक्सिजनसहितको आइसोलेसन सेन्टर बनाउने ।

‘अस्पतालमा बेड पाइँदैन । टोलकै मानिस संक्रमित भए कहाँ राख्ने ? सरकारको मात्र मुख ताकेर त भएन नि’, उनी भन्छन्, ‘अस्पताल र सरकारलाई दुःख नदिन अक्सिजनसहितको आइसोलेसन बनाएका हौँ । अब टोलवासी संक्रमित भए यही राख्छौँ ।’

भारतमा जसरी फैलिएको छ त्यसैगरि नेपालमा फैलियो भने के हुन्छ ? पूरै फैलिएपछि तयारी थालेर त भएन । त्यसैले तीनवटा क्लबले पहिले नै आइसोलेसन तयार पारेका हुन् ।

च्यासलमा बनाइएको आइसोलेसन । तस्वीर : मनन महर्जनको ट्वीटरबाट ।

अहिले चारवटा बेड भए पनि पछि अरु थप गर्ने योजना रहेको उनी सुनाउँछन् । ‘१० वटा बेड राख्न मिल्छ । अक्सिजन पनि थप गछौँ’, उनी भन्छन्, ‘अक्सिजन पाउन पनि गाह्रो छ । टोलमा भयावह स्थिति आउन नदिन पहिले नै सचेत भएका हौँ ।’

अक्सिजन र बिरामी हेर्नको लागि डाक्टरको समेत व्यवस्था गरिएको उनले बताए । आइसोलेसन बनाउन बेड भने च्यासल युवा क्लबले उपलब्ध गराएको हो । ‘ए डिभिजन गेम खेल्न खेलाडीका लागि बेड राखिएको थियो । अहिले त्यही प्रयोग गरेका हौँ’, उनी भन्छन्, ‘अर्को बेड बनाउन समय लाग्ने भएकाले क्लबकै प्रयोग गरिएको हो ।’

टोलटोलमा यसरी नै सुरु गरे अस्पताल, स्थानीय, प्रदेश  र केन्द्र सरकारलाई भार कम पर्ने उनी बताउँछन् । ‘च्यासलले सुरु गरेको छ । टोलटोलमा क्लब र समिति हुन्छ । सबैले यसरी नै गर्ने हो भने सरकारलाई पनि सहयोग पुग्छ’, उनी अनुरोध गर्छन्, ‘भाइरस पहिलेभन्दा झन् बढी डरलाग्दो देखिएको छ । अब सबै टोलले आइसोलेसन बनाउनु आवश्यक छ ।’