पृथ्वीमा ओर्लिए ४ अन्तरिक्षयात्री

News

स्पेस–एक्स ड्रागनमार्फत ४ जना अन्तरिक्षयात्री आइतबार बिहान पृथ्वीमा अवतरण गरेका छन् । अमेरिकी अन्तरिक्ष विज्ञान संस्था (नासा) का अनुसार अन्तरिक्ष यात्रीहरू पनामा सिटीनजिकको समुद्री जलक्षेत्रमा अवतरण गरेका छन् ।

ती अन्तरिक्ष यात्रीहरू अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा ६ महिना रहेका थिए । उनीहरू जलक्षेत्रमा अवतरण गर्नासाथ डुंगामार्फत उनीहरूलाई बाहिर निकालिएको थियो । नासाले चारै जना अन्तरिक्षयात्रीले आफूहरूको स्वास्थ्य अवस्था ठीक रहेको बताएका जनाएको छ ।

फ्लोरिडाको तटीय गल्फ अफ मेक्सिकोमा आइतबार बिहान २ बजेर ५६ मिनेटमा पृथ्वीमा उनीहरू अवतरण गरेका थिए । उनीहरूलाई अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रबाट पृथ्वीमा आइपुग्न साढे ६ घण्टा लागेको नासाले जनाएको छ ।

गत नोभेम्बरमा मिचेल हप्किन्स, भिक्टर ग्लोभर, सानोन वाल्कर र जापानका सोइची नोगुची अन्तरिक्षमा गएका थिए । उनीहरू अन्तरिक्षमा जाँदा एलन मस्कले निर्माण गरेको स्पेस–एक्सबाट प्रस्थान गरेका थिए ।