पर्सा — दुई सातायता ठोरी गाउँपालिका–३ रामनगर र वडा नम्बर ४ ठाडोलाइनमा बाघको आतंक बढेको छ । बाघको डरले स्थानीय दिउँसै हिँडडुल गर्न पनि डराएका छन् ।
वैशाख १३ गते ठाडोलाइनका ७१ वर्षीय सुकदोर्जे दोङ बाघको आक्रमणबाट घाइते भएका थिए । साँझ करिब ५ बजेतिर मकै बारीमा गएका उनलाई बाघले आक्रमण गरेको थियो ।
पाटेबाघले उनको घाँटी, ढाड, हातलगायत शरीरका विभिन्न अंगमा चोट पुर्याएको थियो । बाघलाई स्थानीयले होहल्ला गरेर जंगलतर्फ धपाएका थिए । त्यसको अघिल्लो दिन वैशाख १२ गते रामनगर नजिकै एउटा वयस्क पाटेबाघ मृत फेला परेको थियो ।
रामबुद्ध सामुदायिक वन क्षेत्रभित्र पाटेबाघ मृत फेला परेको हो । वनभित्र गाईवस्तु चराउन गएका स्थानीयले मृत बाघ देखका थिए । मृत बाघलाई चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले कसरा लगेको छ । सोही सामुदायिक वन क्षेत्रमा वैशाखको पहिलो साता बाघको आक्रमणमा परी रामनगरका पूर्णबहादुर तामाङ घाइते भएका थिए । बाघले स्थानीयको आधा दर्जनभन्दा बढी खसीबाख्रा मारेको थियो ।
एक साताअघि चितवन निकुञ्जमा बाख्रा चराउन लगेकी ठोरी ४ की मैती श्रेष्ठको ९ वटा बाख्रा बाघले मारेको स्थानीय माधव तिमिल्सेनाले बताए । बस्तीनजिक रहेको जंगलवरपर बाघ रहेकाले स्थानीय त्रास रहेको उनको भनाइ छ । ‘त्यस क्षेत्रका बासिन्दा घरबाट निस्कन, चौपायालाई चराउन जंगल पस्न पनि उनीहरू डराएका छन्,’ उनले भने, ‘आतंक मच्चाएको बाघलाई नियन्त्रणमा लिन चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले हालसम्म कुनै प्रयाससमेत गरेको छैन ।’