१९९० को पुस्ता हुनुहुन्छ भने तपाईलाई पक्कै याद होला, घरमा रहेको क्यासेट प्लेयर , अनि ‘ए’ र ‘बी’ साइड गरि ओल्टाई पल्टाई क्यासेट राखेर गीत सुनेका पलहरु । कानमा हेडफोन राखेर मोबाइल र आइपोड बोकेर हिड्ने अहिलेको पुस्तालाई थाहा नहोला यसको सुरुवात सोनीको वकमेनबाट भएको थियाे । सानो वकमेनमा क्यासेट राखेर इयरफोनबाट गीत सुन्दै हिड्ने त्यो परिस्थिति अब इतिहास भइसकेको छ ।
भनिन्छ इतिहास दोहोरिन्छ । हो, यसको पनि इतिहास दोहोरिदैछ । तपाईंको प्रिय बाल्यकाल भनौँ वा त्यही दशकको इतिहास दोहोर्याउँदैछ फ्रान्सको एक कम्पनीले । सन् १९६० को दशकमा आविष्कार भएको क्यासेटलाई सन् १९८० को दशकमा आविष्कार भएको वकमेनले हिँड्दै सुन्दै गर्ने सुविधा थपिदियो । दुइटै सुविधा थपिदा यी दुवै आविष्कारप्रतिको आकर्षण चुलियो ।
डिजिटल प्रविधिको सुरुवात भएपछी क्यासेट टेप टाढियो, वकमेनबाट हेडफोन छुट्टीयो अनि जोडियो मोबाइलमा । बैंकको म्याग्नेटिक कार्ड निर्माता फ्रान्सको मुलानले त्यो क्यासेट युगलाई फर्काउँदैछ त्यो पनि २१ औं शताब्दी सुहाउँदो । मुलानले सन् २०१६ मा एउटा सहायक कम्पनी खोल्यो, रेकर्डिङ द मास्टर्स । यसको काम एनालग प्रविधिका पुराना वस्तु निर्माण गर्ने उद्देश्य थियो । एनालग वस्तुको माग ८० प्रतिशतले बढेपछी मुलान नयाँ कम्पनीबाट यस्ता वस्तु निर्माणमा अघि सरेको हो । कम्पनी निर्माणको दुई बर्ष पछि पुरानो क्यासेट प्लेयरमा सुधार गर्दै नयाँ किसिमको क्यासेट संस्करण बन्यो । जसको नाम राखियो फक्स ।
पछिल्लो समय क्यासेटको बिक्री व्यापक बढेको छ । सन् २०१७ मा फ्रान्समा एक लाख ७८ हजार क्यासेट बिक्री भएकोमा सन २०१८ मा दुई लाख १९ हजार थान बिक्री भए । मुलानका सीईओ जिन रेनो एनालग प्रविधिलाई डिजिटलको ‘सप्लिमेन्ट’ मान्छन् । उनको कम्पनी नयाँ क्यासेटलाई ६९ डलर युरोमा बिक्री गर्ने योजनामा छ ।