प्रदेश १ ले पायो हजार थान पीपीई

Health-Education

स्वास्थ्य मन्त्रालयले चीनबाट ल्याइएको स्वास्थ्य सामग्रीमध्ये एक हजार व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) प्रदेश १ सरकारलाई पठाएको छ।

सोमवार नेपाली सेनाको स्काई ट्रकमार्फत् बिराटनगर आइपुगेको पीपीई प्रदेशका सामाजिक विकासमन्त्री जीवन घिमिरेले बुझेका थिए।

उक्त सामाग्रीहरु बुझेपछि मन्त्री घिमिरेले एक नम्बर प्रदेशका स्थानीय तहलाई एक सय ३७ वटा स्थानीय तहमा पीपीई उपलब्ध गराउने बताए।

त्यसैगरी प्रदेशकै ठुलो स्वास्थ्य प्रतिष्ठानको रुपमा रहेको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई एक सय ५० थान, कोशी अस्पताल बिराटनगरलाई एक सय ५० थान, कोशी अस्पताल कोरोना उपचार केन्द्रलाई दुई सय थान र मेची अस्पताललाई ४६ थान उपलब्ध गराइने मन्त्री घिमिरेले जानकारी दिए।

त्यसैगरी, प्रदेश सरकारले मोरङ जिल्लालाई ३४ थान, झापालाई ३० थान, सुनसरीलाई २४ थान, धनकुटालाई १४, तेह्रथुमलाई १२, संखुवासभालाई २०, भोजपुरलाई १८, सोलुखुम्बुलाई १६, उदयपुरलाई १६, खोटाङलाई २०, पाँचथरलाई १६, ताप्लेजुङलाई १८, इलामलाई २०, ओखलढुङ्गालाई २० वटाका दरले स्वास्थ्य कार्यालय मार्फत् दिइनेछ।

स्वास्थ्य मन्त्रालयले सेनिटाइजर, मास्क लगायतका सामग्री मंगलवार काठमाण्डौबाट गाडी मार्फत् पठाउने स्वास्थ्य मन्त्रालय श्रोतले जानकारी दिएको छ।