सरकार ! अझै साइत कुर्ने कि व्यापक परिक्षणमा लाग्ने ?’ : नेपाली कांग्रेस

Politics

काठमाण्डौ । नेपाली कांग्रेसले संसारमा महामारीको रुप लिएको कोरोना भाईरसको संक्रमणले नेपालमा क्षति पुर्याउनु अगावै सवै तयारि पुरागर्न सरकारलाई आग्रह गरेको छ।

शनिवार एक बिज्ञप्ति मार्फत प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नेपालमा हजारौंको जीवन जानुअघि नै ढिलासुस्ती र अकर्मण्यतालाई त्यागेर तयारीमा जुट्न सरकारलाई आग्रह गरेको हो।

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारि बिज्ञप्तिमा कैलालीमा एक स्थानीय महिलामा कोरोना संक्रमण देखिएको बिषयलाई तत्काल गम्भीरतापूर्वक लिएर परिक्षणको ब्यापकता बढाउन नेपाली कांग्रेसले सरकारलाई अनुरोध गरेको छ।

समयको गम्भीरता अनुरुप आफ्नो गति बढाउन सरकारलाई आग्रह गर्दै, लापरबाहीको परिणाम भयावह हुनसक्ने कांग्रेसको चेतावनी छ। पाँच बुँदे उक्त बिज्ञप्तिमा समाजमा संक्रमण फैलन नदिन सरकारले अविलम्ब सबै कदम चाल्न कांग्रेसलेआग्रह गरेको छ।

प्रवक्ता शर्माद्वारा जारि बिज्ञप्ति :

सरकार ! अझै साइत कुर्ने कि व्यापक परिक्षणमा लाग्ने ? चीनको सफलताबाट सिक्ने कि कतिपय देशको झैं भयावह स्थिति प्रतीक्षा गर्ने ?
चैत्र २२, २०७६  

सरकार !

अझै साइत कुर्ने कि व्यापक परिक्षणमा लाग्ने ? चीनको सफलताबाट सिक्ने कि कतिपय देशको झैं भयावह स्थिति प्रतीक्षा गर्ने ?

कैलालीमा एक स्थानीय महिलामा कोरोना संक्रमण देखिएको बिषयलाई तत्काल गम्भीरतापूर्वक लिएर परिक्षणको ब्यापकता बढाउन नेपाली कांग्रेस सरकारलाई अनुरोध गर्दछ।

(१)  यसअघि संक्रमण देखिएका ६ जना सबै बिदेशबाट आएका नेपाली थिए । तर सातौंमा संक्रमण स्थानीयमा देखिनुको अर्थ हो हामी अब गम्भीरताको दोस्रो चरणमा पुगेका छौं ।

(२) ती महिलाले संक्रमण कहिँ बाहिरबाट लिएर आइनन्, हाम्रो गम्भीर सतर्कता नपुग्नुको परिणाममा उनी संक्रमित बन्न पुगिन्। समयमै दोहोरो अन्तर्राष्ट्रिय उडान रोक्ने, बाहिरबाट आएका नेपालीलाई अनिवार्य क्वारेन्टाइनमा राख्ने र परिक्षणको दायरा विस्तार गर्ने कार्य गरेको भए खतराको आकार बढेर जाने थिएन ।

(३) सरकारलाई हाम्रो अपील छ, यस अघि संक्रमित देखिएका सबैको परिवारजन, छरछिमेकी र घुलमिल भएका साथी समुहको परिक्षण, परिक्षण र परिक्षण, तत्काल, तत्काल र तत्काल गरौं ।

 (४)  बाहिरबाट आएका सबै नेपालीलाई तत्काल अनिवार्य रुपमा क्वारेन्टाइनमा बस्न कडाइका साथ सूचना जारी गरौं र सबै स्थानीय तह र स्थानीय प्रशासन मार्फत सूचनालाई कडाइका साथ कार्यान्वयन गरौं ।

(५)  स्थानीय एक तथा अन्य दुइमा गरेर एकै दिन तीन जनामा संक्रमण देखिएको आजको दिन सबै खाले ढिलासुस्ती र अकर्मण्यतालाई आहुती दिएर व्यापक सतर्कता, व्यापक परिक्षण र व्यापक उपचार बढाउने क्रममा सरकार युद्धस्तरमा प्रवेश गर्ने दिन बन्नुपर्छ।

अब रत्तिभर हेलचेक्र्यांईको अर्थ हुनेछ, समुदायमा संक्रमण फैलन छुट, जसको परिणाम भयावह हुन सक्छ । समयको गम्भीरता अनुरुप सरकारले गति बढाओस् । जय नेपाल !