डेलीमेलका अनुसार चीनले कोरोना भाइरसको भ्याक्सिनको विकास गर्न गर्दै आएको पहल सकारात्मक दिशातर्फ अघि बढेको छ । हालै परीक्षण भ्याक्सिन लगाएकामध्ये पहिलो समूहका १४ जना क्वारेन्टाइन अवधि सकेर घर फर्किएका छन् । अनुसन्धान टोलीले ‘क्लिनिकल ट्रायल’ मा सहभागी सबै स्वयंम्सेवकलाई आगामी ६ महिनासम्म निगरानी गर्नेछ र एन्टीबडिज परीक्षणका लागि उनीहरुको ब्लड स्याम्पल लिनेछ ।
भ्याक्सिनको प्रभावकारीता प्रमाणित गर्न विदेशमा थप व्यक्तिमा परीक्षण गर्ने योजना रहेको वैज्ञानिकहरुले बताएका छन् । चीनले पहिलोपटक सम्भावित कोरोना भाइरस भ्याक्सिनका लागि १७ मार्चमा ‘क्लिनिकल ट्रायल’ सुरु गरेको थियो, चीनका शीर्ष सैनिक बायो– वारफेयर विज्ञ चेन वी नेतृत्वको टोलीले यस्तो भ्याक्सिनको विकास गरेको हो ।
तीन समुहमा विभाजन गरेर फरक मितिमा १८ देखि ६० वर्ष उमेर समुहका कुल १ सय ८ स्वस्थ व्यक्तिलाई फरक मितिमा विभिन्न परिमाणका भ्याक्सिन लगाइएको चीनियाँ समाचारमा जनाइएको छ ।
यसपछि अवस्था निगरानीका लागि उनीहरुलाई वुहान स्पेशल सर्भिस हेल्थ सेन्टरस्थित आइशोलेसनमा राखिएको हो । फरक मितिमा इन्जेक्सन लगाइएकाले फरक मितिमै उनीहरुको मेडिकल परीक्षण पूरा हुने चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् ।
पहिलो परीक्षणको नतिजा सकारात्मक आएमा अन्तर्राष्ट्रिय रुपमै यसलाई बिस्तार गरिने अनुुसन्धानकर्ताहरुले जनाएका छन् । ‘यदि सुरुवाती नतिजाले भ्याक्सिनलाई सुरक्षित र प्रभावकारी देखाएमा हामी अन्तर्राष्ट्रिय सहकार्य मार्फत विदेशमा पनि यसको प्रभावकारीताबारे जाँच गर्नेछौं,’ चेन वेईले भनिन् ।
५४ वर्षीय चेन वी जेनेटिक इन्जिनियरिङ भ्याक्सिनबारे चीनकी अग्रणी विशेषज्ञ हुन् ।