पशुपतिमा दैनिक ४०० जनालाई निःशुल्क भोजन

News

राजधानीको पशुपतिनाथ परिसरमा सरकारले गरेको लकडाउनका कारण  समस्यामा परेकालाई  दैनिक निःशुल्क भोजनको व्यवस्था गरिँदै आएको छ ।

पशुपतिनाथ परिसरमा रहेको सुमार्गी भवनबाट साधुसन्तसहित ४०० जना सर्वसाधारणलाई निशुल्क भोजनको व्यवस्था गरिँदै आएको पशुपति क्षेत्र विकास कोषका सदस्य राजु खत्रीले जानकारी दिए ।

पशुपति क्षेत्रका साधु सन्तसहित लकडाउनका कारण गाउँ जान नपाएर काठमाडौंमै बस्न बाध्य भइ समस्यामा परेकाहरुलाई निःशुल्क भोजनको व्यवस्था गरिएको छ ।

निशुल्क भोजनका पशुपति क्षेत्र विकास कोषका प्रदीप ढकाल, सदस्य खत्रीलगायतले चामलको व्यवस्था गरेका छन् भने कालीमाटी तरकारी बजारका दुई जना व्यापारीले आवश्यक तरकारीको सहयोग गरेका छन् । यस्तै पशुपति एग्रोभेटका व्यापारीहरुले मरमसला सहयोग गरेका छन् ।

निशुल्क खाना सुमार्गी भवनका सञ्चालक सुनिल वैद्यको व्यवस्थापनामा बनाउने गरिएको छ भने त्यसका लागि वैद्यले नै केही कर्मचारी खटाइदिएका छन् ।