काठमाडौं, २५ चैत । ज्वरो नाप्ने थर्मल गनमा कालोबजारी गरेको आरोपमा शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाल पक्राउ परेका छन् । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले अग्रवाललाई काठमाण्डौको नक्सालबाट मंगलबार पक्राउ गरेको हो । महानगरीय अपराध महाशाखालाई केही दिन अघि बजारमा चरम अभाव रहेको ज्वरो नाप्ने यन्त्र (थर्मल गन) बढी मूल्यमा विक्री वितरण भइरहेको सूचना आएको थियो ।
अग्रवालको साथबाट प्रहरीले ६७ वटा थर्मल गन पनि बरामद गरेको छ नेपालका लागि किर्गिस्तानका अवैतनिक दूतसमेत रहेका अग्रवालले ५ हजारमा पाइने थर्मल गन १५ हजारसम्म लिएर बिक्री गरेका थिए ।

आग्रवालले बढी मूल्यमा थर्मल गन बेचेको थाहा पाएपछि प्रहरी अनुसन्धान गर्न ग्राहक बनेर गएको थियो। आवश्यक प्रमाण जुटेपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
कीर्गिस्तानमा अवैतानिक महावाणिज्य दूत समेत रहेका उनले कालोबजारी गर्ने क्रममा कूटनीतिक नियोगको गाडी प्रयोग गरेको पाइएको छ । उनको साथबाट २०९८ सीसी वान नम्बरको गाडी प्रहरीले बरामद गरेको छ ।
शंकर ग्रुपले हालै शनिबार मात्र चीनको ग्वान्झाओबाट सात टन मेडिकल सामग्री ल्याएको थियो। एक निजी लजिस्टिक कम्पनीले मेडिकल सामग्री लिन नेपाल एयरलाइन्सको विमान चार्टर गरेको थियो ।
ग्वान्झाओ जाने बेला २२ टन सामान ल्याउने भनिएपनि जहाजले ७.५ टन मात्र लिएर फर्कियो । त्यसबेला ल्याइएको स्वास्थ्य सामग्रीमा सीजी ग्रुप, नर्भिक अस्पताल र केही मेडिकल सप्लायर्सबाहेक बाँकी सामान शंकर ग्रुपकै थियो।
त्यही बेला शंकर ग्रुपले नै अरुको सामान नल्याउन लगाएको हुनसक्ने आशंका गरिएको थियो।